
संवत् २०७३ असार ४ गते दोलखाको भ्रमण जुुर्यो । पारिवारको जागिर उतै भएको र छोरीहरूको भ्रमण चरिकोट बजार दोलखाको थियो । मेरो व्यक्तिगत चासो किरातीछापबारे जान्नुु थियो । किरातीछापबारे श्रीमतीले जानकारी गराउँदै चासोअनुसार छोरीहरूसँग दोलखा घुम्न आउने कुरा चल्यो । त्यसपछि दोलखा भ्रमणको हुटहुटी बढ्न थाल्यो । तर, कहिल्यै जुरेको थिएन । बल्ल समय आयो । छोरीहरूको स्कुुलमा दुई दिनका लागि बिदा भयो । बिदाको समय छोरीहरूसँग चरिकोट भ्रमणमा लाग्यौं । चरिकोट पुगेपछि मेरै चासोले प्राथमिकता पायो । सपरिवार असार ५ गते बिहानको खाना खाई किरातीछाप भ्रमणमा लाग्यौं ।
किरातीछापको अवस्था
किरातीछाप जिरी जाने बाटोमा पर्दोरहेछ । चरिकोट बजारबाट आठ किलोमिटर टाढा छ । किरातीछाप भीमेश्वर नगरपालिका–६ मा पर्छ । चरिकोट बजार र किरातीछाप एउटै नगरपालिकाको दुई फरक वडा हुन् । चरिकोट बजार हो भने किरातीछाप गाउँ । यो ठाउँ चरिकोट बजारबाट दक्षिण बेंसीमा पर्छ । यसको केही किलोमिटर तल तामाकोसी नागबेली आकारमा बगेको देखिन्छ । फाँटिलो परेको यो ठाउँ चरिकोट बजारभन्दा न्यानो रहेछ । यहाँका रुखबिरुवा बेंसीमा पाइने टाँकी, खनिउ, कटहर, बडहर, नेभारु आदि हुन् ।
जिरीतिर जाँदा किरातीछाप पुगेपछि किरातीछाप लेखिएको साइनबोर्ड देखिन्छ । साइनबोर्ड देखेपछि लाग्छ– पक्कै पनि यहाँ किरातीको रस्तीबस्ती छ । साइनबोर्डबाट केही पर पुगेपछि झुप्रुक्क परेको सानो बस्ती छ । यो किरातीछापको केन्द्र गाउँ हो । त्यहाँ अर्को किरातीछापको साइनबोेर्ड देखिन्छ । तत्कालीन समयको राजनीतिक र प्रशासनिक विभाजनअनुुसार किरातीछापमा २५३ घरधुरी संख्या (२०७३ मा) रहेछ । अहिले बढे होलान् । यहाँ किरातीको कुनै दसीप्रमाण पाइँदैन । उल्लिखित घरधुरीभित्र कार्की, थापा, कुँवर (कौर), बस्नेत, श्रेष्ठ, भुजेल, नेपाली, राउत, चर्मकार, सिवाकोटी र भण्डारी छन् ।
स्थानीयको भनाइ
झुप्रुक्क परेको बस्ती हुँदै जिरी जाने सडकको एकछेउमा प्रहरी बिट रहेको छ भने अर्कोतिर फराकिलो जमिन । पहिले यहाँ पोखरी थियो । कालान्तरमा पोखरी मासियो । त्यहाँ अहिले एकलाइनले घर बनिसकेका छन् । त्यो लाइनमा किराना तथा चिया पसल चलिरहेका छन् । एकातिर बडेमानको दुई पीपल छन् भने सँगै सिमेन्टका चौतारा बनाइएका छन् । पीपलका रुख कहिलेका हुन् भन्ने कसैलाई थाहा छैन । स्थानीयको भनाइअनुुसार यहाँ एक भग्नावशेष थियो । यहीं बसेर किराती राजाहरूले छाप लगाउने काम गरेकाले यो ठाउँको नाम किरातीछाप भएको हो । यो ठाउँमा राणाकालमा समेत कोतमौला स्थापित थियो । त्यतिबेलासम्म धारा, पोखरी र पाटीसमेत थियो । अहिले भने नगर स्वास्थ्य क्लिनिक र पशुपति महादेव स्थापित छन् ।
यहाँको बासिन्दाको बुुझाइमा किराती भनेको राई हुन् । स्थानीयले किराती राई भने केही वर्षअघि दार्जिलिङबाट एकजना सर पढाउन पुगेपछि मात्र देख्न पाए । त्योभन्दा अघि कसैले पनि राई देख्न पाएका थिएनन् । जिरीमा जिरेलको बसोवास रहे पनि उनीहरूलाई किराती नभन्दा रहेछन् । किरातीछापवरपरका गाउँको नाम बुझ्दा उत्तरतिर धरमपुर, कात्तिके र जिलु, पूर्वतिर नाम्दु, मार्बु र जिरी, पश्चिमतिर घोक्सिला, गोल्माथान, कालकुटी र दक्षिणतिर फस्क, सामुते र पओंटी छन् । गाउँका केही ठाउँका नामबाहेक सबैका नाम किराती भाषासँग मिल्दो रहेको छ । गोल्मा नाम त भोजपुरको दक्षिणमा रामप्रसाद राई गाउँपालिकाको कटुुन्जेमा रहेको विशाल भीरको नाम हो ।
साकेन्वा मुुत्दुममा दोलखा

साकेवा एक परिचय पुस्तकमा निर्दोष बालाखाम्छाले लेखेका छन्– हालको दोलखामा एक किराती राजा थिए । उनका सिल्टाङकुप्मा र वासङकुप्मा नामक दुई श्रीमती र सोइसोइला नामक चेली थिए । पराजयको मारले शक्तिदाताका रूपमा पारुहाङ र सुम्निमाको छोरा हेन्कुमबुङ स्थापना गरी किरात राजाले अब हामीले यो शक्तिदाताको पूजा–आराधना गरी शक्ति प्राप्त गर्नुपर्छ । तिमीहरूले एउटा दोलो बनाउनुुपर्छ भनी हुकुम दिए । सोहीअनुुसार विभिन्न सामाग्री जुुटाएर सोइसोइलाले दोलो निर्माण गरिन् । दोलो राजालाई दिइन् । दोलोमा एउटा लरक्क लर्किएको चराको प्वाँख थियो । राजालाई प्वाँख अति मन पर्यो । प्वाँख केको हो भनी बहिनीलाई सोध्दा उनले भिङ्गुमा चराको प्वाँख भनेर जानकारी गराइन् । राजाले त्यही चराको नामबाट ढोलझ्याम्टाको लय, ताल निकाल्न लगाई हेन्कुमबुुङसँग शक्ति माग गर्न धनुुकाँड, सोलोयाँ र ढोलझ्याम्टा लिएर पुज्न हिँडे । चेलीलाई दोलो बोक्न लगाए । सिल्टाङ कुप्मालाई नाच्ने कला निकाल्न लगाए ।
हेन्कुमबुुङ स्थापना गरेकोे स्थान पुुगेर राजाले हेन्कुमबुुङलाई पुज्न लागे । प्रत्येक मन्त्रको साथमा सोइसोइलाले दोलो क्रमशः कम्मर, काँध र शिरमा लगाइदिनुुपर्ने भयो । भुँइदेखि राजाको काँधसम्म क्रमशः दोलो पुुग्यो । अन्त्यमा राजाको शिरमा दोलो पुुगेपछि गाई काटी भोग दिनुुपर्थ्यो । मन्त्रअनुसार दोलो शिरमा लगाई गाई काट्ने समय भयो । तब चेली पर सरी । चेली आफैं लाजले त्यहाँबाट भागी । राजाले चेलीलाई दोलोकुप्मा दो सोइसोइला भनेर बोलाए । तर, चेली अघि नै भागिसकेकी थिई । सबैतिर खोजी भयो तर कसैले सोइसोइलालाई भेटेनन् । ढोलेहरूले ठूूूूूूूूलो स्वरले दोलोकुप्मा दो सोइसोइला भनेर बोलाए पनि सोइसोइला आइनन् । दोलो शिरमा चढ्न पाएन । दोलो काँधबाट भुुँइमा झर्यो । उडेर जाला भनी त्यसलाई दुुईतिरबाट बाँधेर राखियो । तर, थामिएन । अन्ततः दोलो शिरमा नपुुगी भुँइमा झरेकाले यस ठाउँको नाम दोलोखा भयो । त्यही दोलोखा अपभ्रंश भएर दोलखा भएको हो ।

6 पटक हेरिएको