
भोजपुर । किरात राई बान्तावा मुकारुङ संघको १० औं महाधिवेशनले भूपू कर्णेल गंगाराज मुकारुङ राई (अन्नपूर्ण, भोजपुर) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा श्रीमती जुनुकुमारी माङपाहाङ्मा मुकारुङ राई (पाँचथर), शिखर मुकारुङ राई (काठमाडौं) महासचिव, बिनिता रुङमाहाङ्मा मुकारुङ राई (केराबारी, भोजपुर) सचिव र प्रभुराम मुकारुङ राई (ललितपुर) कोषाध्यक्षमा चयन भएका हुन् ।
यसैगरी, लीलाबहादुर मुकारुङ राई ‘राजन’ (कमल, झापा), किसनकुमार मुकारुङ राई (हाङ्गुम, पाँचथर), टायाहाङ मुकारुङ राई (माङ्सेबुङ, इलाम). रमेश मुकारुङ राई (केराबारी, भोजपुर), भक्त मुकारुङ राई (चोलन्ती, भोजपुर) र दीपक मुकारुङ राई (धरान, सुनसरी) ले सदस्यको भूमिका पाएका छन् ।
टेम्के मैयुङ गाउँपालिका–५, खावा, केराबारी, भोजपुरमा संवत् २०८२ चैत २९ र ३० गते सम्पन्न संघको महाधिवेशनमा वरिष्ठ फोटोग्राफर हरिवंश किरात (काठमाडौं), समाजसेवी मेजर पहलमान मुकारुङ (सिक्किम), संस्कृतिविद् भक्तबहादुर रुच्छेनबुङ राई (भोजपुर), शिक्षा तथा संस्कृतिविद् दिलेन्द्र मुकारुङ राई (इलाम) र बान्तावा शब्दकोश निर्माण समितिलाई संघको ‘विशिष्ट सम्मान–२०८२’ प्रदान गरिएको थियो ।
महाधिवेशनमा संघको मुखपत्र ‘दोदुम’ लोकार्पण गरिएको थियो । सो अवसरमा किरात आदिम पुर्खाले प्रयोग गरेका हतियार भेताली (धनुषवाण) प्रतियोगिता गरिएको थियो । १९ प्रतियोगी सहभागी प्रतियोगितामा राजकुमार मुकारुङ राईले बाजी मारे ।
किरात संस्कार अनुसार छोरीचेलीले माइतीको शिर उठाउने (सायाचोक्मा) समेत गरिएको थियोे । त्यस्तै, बुहारी सदस्य श्रीमती विष्णुकुमारी साङपाङमा राईले लोकबाजा ‘बिनायो’ बजाउँदै लोपोन्मुख मौलिक गीत ‘हियारी’ गाएर महाधिवेशनमा सहभागीलाई मन्त्रमुग्ध बनाइन् । अन्त्यमा साकेला सिली नाच्दै अर्को वर्ष भेट्ने वाचासहित महाधिवेशन समापन गरिएको थियो ।

108 पटक हेरिएको 

