पूर्वएआईजी राई ‘क’ श्रेणीका गायक

  दीपेन्द्र राई  6 पटक हेरिएको

‘मैले ?,’ उनले सुनाए, ‘त्यतिबेलै ‘क’ श्रेणीको गायकको मान्यता पाएको थिएँ ।’

‘क’ श्रेणीका गायक अरू कोही नभएर पूर्वएआईजी ठुले राई हुन् । पूर्वएआईजी तथा गायक राईले ‘क’ श्रेणीका गायक बन्न संघर्षका पापड बेल्नसम्म बेलेका थिए ।

विद्यालयमा सांस्कृतिक कार्यक्रम भइरहन्थ्यो । ‘यो २०३५/०३६ सालतिरको कुरा हो,’ उदयपुरको बेल्टारबाट विद्यालयस्तरको अध्ययन पूरा गरेका उनले विगत सम्झे, ‘कार्यक्रममा भाग लिन्थें । आफैंले गीत कम्पोज गर्थें ।’

गीत–संगीतमात्रै होइन, अध्ययन र खेलकुदमा समेत अब्बल उनको समूहमा नवीन राईलगायत थिए । उनीहरूको समूह लोभलाग्दो थियो । त्यही लोभलाग्दो समूहमध्येका नवीन र ठुले उच्चशिक्षा अध्ययनका लागि काठमाडौं पसे । ०४० मा काठमाडौं पस्दा राईसँग गितारबाहेक केही थिएन । त्यो गितार पनि नवीनको थियो । नवीनको गितारले सीबी क्षेत्रीसँग सम्बन्ध जोडियो । उनीहरूले केही समय क्षेत्रीसँग गितार बजाउन सिके ।

काठमाडौं रहने–बस्नेक्रममा पुराना कलाकारसँगको सम्पर्क, सम्बन्ध बाक्लिँदै गयो । शुभचिन्तकले बाटो देखाइदिन्थे । बाटो देखाइदिँदा मात्रै पनि आडभरोसा हुँदोरहेछ । आडभरोसालाई ‘क्यास’ गर्न लागिपरे ।

‘त्यसताका प्रज्ञाप्रतिष्ठानमा संगीतज्ञ अम्बर गुरुङ थिए,’ उनले विगत कोट्याए, ‘उहाँको चेला बन्न गाह्रो थियो । तर पनि सम्भव भयो ।’

कसरी ?

‘त्यतिबेला प्रज्ञाप्रतिष्ठानले संगीत सिक्न चाहनेलाई एकवर्षे कोर्स गराउँथ्यो,’ उनले प्रस्ट्याए, ‘त्यसका लागि खुला प्रतिस्पर्धा गराइन्थ्यो । प्रतिस्पर्धाबाट छानिनेले गुरुङको चेला बन्ने मौका पाउँथे । प्रतिस्पर्धाबाट मसँगै पाँचजना छानियौं । छानिएकामध्ये अमर तन्डुकार, सुरेन्द्र मुखिया र मैले निरन्तरता दियौं । दुईजनाले दिएनन् ।’

गुरुङको चेला बन्न पाउँदा उनलाई कम्ती खुसी लागेको थिएन । ०४१/४२ सालतिर वर्ष दिनसम्म गायनसम्बन्धी आधारभूत ज्ञान लिन पाउँदा पलासको फूलमा सुगन्ध भेटिएजस्तै भयो । त्यही ज्ञानले स्वर परीक्षा पास गर्न सजिलो भयो । ‘त्यतिबेला आधुनिक गीत प्रतियोगितामा दोस्रो भएँ,’ उनले थपे, ‘त्यही गीतबाट मैले स्वर परीक्षा पास गरेको हुँ । तर, अम्बर गुरुङलाई कहिल्यै सुनाइनँ ।’

‘तिमीहरूले राम्ररी सिक्ने हो,’ अम्बर गुरुङले सिकाएको सवक सुनाउँदै गायक ठुले राईले सुनाए, ‘दायाँ–बायाँ लागेर सस्तो लोकप्रियताका लागि मरिहत्ते गर्ने होइन ।’ ‘सिरियस म्युजिक’ सिकाउने गुरुले सधैं त्यसो भनेपछि आफूले स्वर परीक्षा पास गरेको शुभखबर उनले सुनाउने हिम्मत गरेनन् ।

गायक राईको अहिलेसम्म सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । त्यसमध्ये रेकर्डिङ गर्दाताकादेखि उनलाई लोकेन्द्र साहले लेखेको सुशील विश्वकर्माले संगीत भरेको ‘मनभित्र दुख्छ, धेरै दुख्छ’ शीर्षाकृत गीत असाध्यै मन पर्छ । त्यतिमात्रै होइन, बुलु मुकारुङको ‘जिन्दगीभरि यो हाम्रो मिलन घाउ भई दुख्ने भो’ शीर्षाकृत गीतले उनको मन छोएको छ । एकताका रेडियो नेपालको अनुरोध संगीत कार्यक्रममा यो गीत धेरैभन्दा धेरै प्रसारण हुन्थ्यो । यही गीतबाट उनी गायक ठुले राई भनेर चिनिएका थिए ।

प्रहरी संगठनमा ब्यान्ड, पुलिस क्लब भए पनि उनी संलग्न छैनन् । प्रहरी संगठनमा रहेका गीत–संगीतसम्बद्धसँग भेटघाट हुँदा सामान्य छलफलसम्म हुन्छ । आफूसम्बद्ध संगठनको ब्यान्ड र क्लबसँग नजोडिए पनि उनले महानगरीय प्रहरीको राष्ट्रगान गाएका छन् ।

गायक ठुले राईलाई नचिन्ने नेपाली गीत–संगीतपारखी सायदै भेटिएलान् । नेपाली गीत–संगीतमा स्थापित नाम भए पनि उनले अहिलेसम्म गीतिएल्बमको तयारी गरेका छैनन् ‘गायन सोख हो,’ उनको मान्यता छ, ‘पेसा बनाउने सपना कहिल्यै देखिनँ ।’

सात÷आठ कक्षा पढ्दादेखि गीत गाउन थालेका उनले हिजोआज पनि फुटकर गीत गाउँदै आएका छन् । उनका बुवा सहरमान राईले समेत गीत राम्रै गाउँथे । ०४६ देखि प्रहरी संगठनमा आबद्ध भए पनि श्रोताले उनको आवाज गीतमार्फन सुन्न पाएकै छन् । अर्थशास्त्रमा स्नातकोत्तर उनले श्रोतालाई नयाँ–नयाँ गीत सुनाउन छाडेका छैनन् ।

‘त्यतिबेला ?,’ उनले सहज उत्तर दिए, ‘दीप श्रेष्ठ, दीपक खरेल, प्रकाश श्रेष्ठ, मधु क्षेत्रीका गीत गाउने सिको गर्थें । त्यसमध्ये पनि दीपक खरेलको गीत बढी फलो गर्थें ।’ त्यसताका खरेलको गीत ‘फलो’ गर्ने गायक ठुले राईले लोक र आधुनिकमात्रै होइन, नेपाली चलचित्रमा समेत गीत गाएका छन् । उनले स्व. नातिकाजी, स्व. राम थापा, गणेश रसिक, बुलु मुकारुङ, शान्तिराम राईलगायत थुप्रै संगीतकारद्वारा संगीतबद्ध गीत गाएका छन् ।

सपना ठूलै देख्नु भन्ने नेपाली उखान प्रचलित छ । गायक राईले गायक र शिक्षक बन्ने सपना देखेका थिए । सहरमान राई भने छोरालाई सरकारी जागिरे बनाउने चाहन्थे । बाबुछोराको सपना एउटै थिएन । उनले बुवाको सपना साकार पारे । बुवाको सपना साकार पार्दै गर्दा आफूले देखेकामध्ये गायक बन्ने सपना फुलाउन मलजल गरे । देखेजति सपना पूरा हुँदैनन् । त्यही भएर शिक्षक बन्ने उनको सपना सपनामै सीमित रह्यो । तर, बुवा र उनले देखेका दुईमध्ये एक गरी दुई सपना संरक्षण गर्न सकेकै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार