
घर (नेपाल) फर्कंदा तीन सय रुपैयाँ थियो । तीन सय साट्दा नेपाली नौ हजार भयो । ६ हजार रुपैयाँको खेत किने । सोलुखुम्बुको तिङ्लामा १२ पाथी बीउ जाने खेत किन्दा भूतपूर्व गोरखा सैनिक प्रेम राई कम्ती खुसी थिएनन् । यो सन् १९६९ को कुरा हो । बाँकी तीन हजार यताउता गर्दै सकियो ।
६ हजारमा किनेको खेत ११ हजारमा बेचे । हात लागेको रुपैयाँले सुनसरीको प्रकाशपुरमा एक बिघा खेत किने । हिमालको फेदीमा बस्ने मानिस तराई झरे । आठ वर्ष नोकरी गरेर स्वदेश फर्केपछि खेतिकिसानी गरेर जीविकोपार्जन गर्दै गए । पहिलेको कामले लय समातेपछि उनी त्यतै रमाउन थाले । मेसिनगन बोकेर दुस्मन परास्त गर्न उद्यत लाहुरे जीवनभन्दा खेतिकिसानी गर्न पो सजिलो हो कि भन्ने निष्कर्ष निकाले ।
‘जसो गर्यो, उसै राम्रो’ भन्ने नेपाली उखान छ । त्यही उखान आत्मसात् गर्दै उनले जीवनको गोरेटो पहिल्याउँदै गए । लाहुरे जीवनको कहालिलाग्दो आठवर्षे अतीतले यदाकदा झस्काउँथ्यो । कहिलेकाहीं विगत सम्झँदा रमाइलो लाग्ने उनको ठम्याइ छ । आठ वर्ष पल्टनमा रहँदा इन्डोनेसियासँग लडाइँ परेको उनले सुनाए । एसएलआर, जीपीएमजीलगायत हतियार चलाएको हिजैजस्तो लाग्छ ।
‘इन्डोनेसियासँगको लडाइँमा आफ्नो समूहका पाँच–सातजनाले ज्यान गुमाए,’ बेलायत फर्कन आठ घन्टाअघि काठमाडौंको कपनमा भेटिएका भूपूगोरखा सैनिक राईले अतीत सम्झे, ‘लडाइँका लागि इन्डोनेसियाको द्वीपनजिक पुग्दा सात दिन भोकै परेका थियौं । जता हेरे पनि सिरुघारीमात्रै देखिन्थ्यो । जताततै हतियार पड्केको आवाजमात्रै सुनिन्थ्यो । हामी १५० जनाजति थियौं । इन्डोनेसियाको बोर्डरमा लडाइँ लड्न जाँदाजाँदै खानेकुरा सकियो । आठौं दिनका दिन लडाइँबाट फक्र्यौं । त्यहाँ दुई दिन लडाइँ लडेका थियौं ।’
आठ वर्ष पल्टन बस्दा आठपटकजति लडाइँमा परेको उनीसँग धमिलो सम्झनामात्रै छ । त्यतिबेला मरिन्छ कि बाँचिन्छ भनेर रत्तिभर चिन्ता लागेको थिएन । २० वर्षे जवानीमा संसार जित्ने हिम्मत भएकाले उनलाई त्यस्तो लाग्नु अस्वाभाविक थिएन ।
सन् १९६० मा भर्ती हुँदा उनी १९ वर्षका थिए । श्रीमतीको न्यानो काख छाडेर उनी लाहुरे गएका थिए । पूर्व–पश्चिमबाट आएका उनीजस्ता लक्का जवान धरानमा भेटिए । घरकै सहोदर दाइ चन्द्रबहादुर राई लाहुरे भइसकेका थिए । गाउँकै दाइ गल्लावाल थिए । तिनै गल्लावाल प्रेम राईलाई लाहुर लैजान प्रेरित गरेका हुन् । लाहुर जानुअघि उनी खेतिकिसानीमै रमाइरहेका थिए ।
‘भर्ती हुँदा ४ पाउन्ड तलब थियो । मलेसिया पुर्याएपछि ६ पाउन्ड बनायो,’ राईले विगत कोट्याए, ‘मलेसियाको पेनाङपारि नौ महिना तालिम गरेपछि मलेसियाकै जोहर बारु पुर्याउँदा मासिक तलब ७ पाउन्ड भयो । नम्बरीहरूले रामराम यति धेरै पैसा भन्थे । त्यति तलबले मलाई त महिना दिन चुरोट खान पनि पुग्दैनथ्यो ।’
भर्ती भएको दुई वर्ष पूरा भइसकेको थियो । अब प्रेम राईको युनिटलाई बेलायत लैजाने पक्कापक्की भयो । ‘बेलायत लैजानुअघि घर पुगेर पर्कन चारमहिने छुट्टी दिइयो,’ उनले सुनाए, ‘छुट्टी सकेर मलेसिया पुग्दा हामीलाई बेलायत होइन, ब्रुनाई पुर्याए ।’ त्यतिबेला इन्डोनेसिया र ब्रुनाईबीच माछा मार्ने सवालमा विवाद चर्केको उनले बुझे । गोरखा सैनिकले बु्रनाईको पक्षमा इन्डोनेसियाविरुद्ध लडाइँ लडे ।इन्डोनेसियाले ब्रुनाई आफ्नो बनाउन चाहेको रहेछ । तेल र सुन खानीका लागि ब्रुनाई प्रसिद्ध मानिन्छ ।
ब्रुनाईमा पाँच–छ महिना बसेपछि पुनः मलेसिया फर्के । मलेसियाबाटै उनी नेपाल फर्के । प्रेम राईहरूलाई किन घर फर्काएका हुन् नि ?
‘ब्रिटिसको पोलिसी बिछट्टैको रहेछ,’ उनले दुःखेसो पोखे, ‘उनीहरूलाई चाहिँदा धेरैभन्दा धेरै भर्ती गर्ने । नचाहिएपछि घर पठाइदिने ।’
खालीहात घर फर्केको ३९ वर्षपछि सन् २००८ मा उनी श्रीमतीसहित बेलायत पुगे । बेलायत सरकारले भूपूगोरखा सैनिकलाई आवासीय भिसा दिएपछि उनी श्रीमतीसहित बेलायत पुगेका हुन् । भूपूगोरखा सैनिकलाई राम्रो हेरचाह गरेको भन्दै उनले बेलायती सरकारको प्रशंसा गरे । ‘एकजना गोरखा सैनिकलाई चाहिने सबै खर्च सरकारले बेहोर्छ । बस्नका लागि चारकोठे घर उपलब्ध गराएको छ,’ उनले बेलिविस्तार लगाए, ‘साप्ताहिक रूपमा १६५ पाउन्ड बैंकमा हालिदिन्छ । आवश्यक परेको बेला निकाल्न गयो । स्वास्थोपचार पनि उसैले गरिदिन्छ ।’
बेलायती सरकारले भूपूगोरखा सैनिकलाई राम्रो हेरेको भन्नेको कमी छैन । त्यही भएर उनी बेलायतमा एक्लै पकाएर खान सक्छन् । आफूलाई चाहिने भान्छाको आवश्यकीय सामान टेलिफोनबाटै ल्याइमाग्छन् । फोन गर्नसाथ भान्छामै सामान आइपुग्छ । भूपूगोरखा सैनिकलाई चौबीसै घन्टा हेरचाह गरिन्छ । सम्बधित भूपूगोरखा सैनिकको घरमा एउटा घन्टीजस्तो राखिएको हुन्छ । त्यो बजाएपछि तुरुन्त फोन आउँछ । उताबाट चिकित्सक पठाऊँ कि एम्बुलेन्स भनेर सोधिन्छ । बिरामीको प्रकृति हेरेर यताबाट उत्तर दिएपछि त्यहीअनुसारको व्यवस्था गरिन्छ ।
उनीसँगै भर्ती भएकाहरू बेलायतमा कोही भेटिएका छैनन् । एक्लो जीवन जिउनुको पीडा जिउनेलाई थाहा होला । हिजोआज उनी बेलायतको जुन ठाउँमा बसोवास गर्छन्, त्यहाँ गोरखा सैनिक छैनन् । वरिपरि गोरे भूपू सैनिकमात्रै छन् ।’
र पनि, उनलाई पट्यार लागेको छैन । ज्येष्ठ नागरिकका लागि कि काठमाठौं राम्रो कि त बेलायत नै । उनलाई ठन्डी ठाउँ मन पर्छ । बेलायतमा भूपूगोरखा सैनिकले दिन कसरी बिताउलान् ? ‘अरूको त मलाई थाहा भएन,’ उनले जानकारी गराए, ‘मचाहिँ ऊनीको झोला बुनेर समय सदुपयोग गर्दै आएको छु । अहिलेसम्म तीन सयभन्दा बढी झोला बुनेर सित्तैमा बाँडिसकेको छु । यो समय कटाउने मेलो हो ।’
बेलायतमा रहँदा उनी घरभित्रै बसिरहन्छन् । कान कमै सुन्छन् । ढाडमा समस्या छ । दुवै समस्या लाहुरेका नासो हुन् । त्यसबाहेक ग्यास्ट्रिकले दुःख दिएको छ । ग्यास्ट्रिकले रात–दिन दुःख दिइरहन्छ ।
७८ हिउँद, वर्षा झेलेका उनी बुढ्यौलीमा पनि बेलायत नै किन बसेका होलान् ? प्रश्न उठ्नु स्वाभाविकै हो । दुई छोराबुहारी, नातिनातिना र आफन्तले नेपाल फर्कन अनुरोध गर्दागर्दै पनि उनी बेलायतमै बसिरहेका छन् । ‘यो उमेरमा पनि बेलायत बस्नुको कारण छ,’ उनी भावविह्वल भए, ‘श्रीमतीको बेलायतमा निधन भयो । उनले देहत्याग गर्ने बेला तँ पनि बेलायतमै मर्नुपर्छ भनेकी छन् । मैले हुन्छ भनेको थिएँ । त्यो वाचा पूरा गर्न म बेलायत बस्दै आएको हुँ ।’

5 पटक हेरिएको 

