त्यसपछि प्रहरी चौकी पुर्याए

५० वर्षअघि काठमाडौंका सडकमा भेटिएका स–साना वस्तु प्रहरीचौकीमा लगेर बुझाउँथ्यौं । हिजोआज भेटिएका पाउनु त परै जाओस्, हिँड्दाहिँड्दै खल्तीबाटै हराउन थालेको छ । मुलुक सञ्चालन गर्ने प्रणाली उपयुक्त भएन कि ? प्रणालीमात्रै बसाउने हो भने नेपाललाई संसारकै नमुना देश बनाउन सकिन्छ भनेर दाबी गर्ने गंगाराज मुकारुङ राईसँग दीपेन्द्र राईले गरेको कुराकानी :

सेकुवा रोजाइमा

विशेषतः दालभात, तरकारी र कुखुराको मासु मन पर्छ । खानका लागि रेष्टुरेन्ट यदाकदा पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः, सेकुवा रोजाइमा पर्छन् । पकाउने रुचि भए पनि ढंग पुग्दैन । तर पनि सामान्य खाना पकाउँछु ।

वार्षिक १०/१५ हजार

सकेसम्म कटनको पोसाक मन पर्छ । पोसाक ‘लुज’ हुनुपर्छ । लगाउँदा सजिलो हुनुपर्छ । पोसाकमा वार्षिक खर्च १०/१५ हजार रुपैयाँ होला । नीलो सर्ट, खैरो रङको पाइन्ट मन पर्छ । समय छैन भने ‘रेडिमेड’ किन्ने गर्छु । नत्र कपडा किनेर सिलाउने बानी छ । तर, धेरैजसो ‘रेडिमेड’ पोसाकै किन्दै आएको छु । यात्रामा निस्कँदा पिक्याप लगाउन सजिलो लाग्छ ।

डेढ घन्टा हिँड्छु

समय भएमा एक/डेढ घन्टा हिँड्छु । जागिरे हुँदा कार्यालयमै एक घन्टा जिम गर्थें । एक घन्टा साउना लिन्छु । डाइटिङ छैन ।

 दुई सय किताब

जीवनी, संस्मरण विधाका किताब पढ्न जाँगर चल्छ । मेरो निजी पुस्तकालयमा दुई सय किताब होलान् ।

२० देश घुमफिर

घुमफिरमा असाध्यै रुचि छ । आठ/नौबाहेक नेपालका सबै जिल्ला पुगेको छु । २० देश घुमेको छु । घुमेकामध्ये इजरायल असाध्यै मन पर्यो । इजरायल सफासुग्घर, अनुशासित देश हो । एकपटक जापान र अमेरिका पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

नातिनीसँग खेलेर रमाउँछु

व्यस्त व्यस्तै छु । पत्रपत्रिका पढेर, नातिनीसँग खेलेर फुर्सदमा रमाउँछु । परिवारलाई समय दिएकै छु । २५ वर्षपहिले हलसम्म पुगेर चलचित्र हेर्थें । प्रविधि विकाससँगै हिजोआज घरमै हेरिन्छ । महिनामा एकपटक मुस्किलले रेष्टुरेन्ट पुगेर खानपिन गरिन्छ ।

क्रिकेटचाहिँ बुझ्दिनँ

फुटबल असाध्यै मन पर्छ । घरमा सबैले क्रिकेट हेरे पनि मचाहिँ बुझ्दिनँ । हेर्न अल्छी लाग्छ । ‘सिभिल लाइफ’ मा क्याम्पस पढ्दासम्म खेलें । सैनिक जीवनमा पनि क्षेत्रीय स्तरसम्म फुटबल खेलेको थिएँ । ब्राजिल, अर्जेन्टिना र जर्मनीका फुटबल टिम मन पर्छन् ।

सात/आठ हजारको मोबाइल

दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । भाइले आइफोन फाइभ उपहार दिएका हुन् । अर्को साधारण सेट हो । यसको सात/आठ हजार परेको थियो ।
फुर्सदमा भाइबर, फेसबुक, मेसेन्जर प्रयोग गर्छु ।

समाचार प्राथमिकतामा

टीभी हेर्दा समाचारले प्राथमिकता पाउँछ । टीभी हेर्ने साइत बेलुका जुर्छ । घरमा ३३ इन्चको सोनी टीभी छ ।

दयाहाङको अभिनय जीवन्त

पछिल्लो समय ‘छक्कापन्जा’ हेरेको थिएँ । त्यतिबेला हेरेको माइतीघर, सिन्दुर र मासुम असाध्यै मन परेको थियो । सबै कलाकार मन परे पनि दयाहाङ राईको अभिनय जीवन्त लाग्छ । टेलिशृंखलाका कलाकार पनि मन पर्छन् ।

खानपानमा ध्यान

युरिक एसिड पारिवारिक रोगै हो । उच्च रक्तचापले समातेपछि औषधि सेवन गर्दै आएको छु । सालिन्दा एकपटक ‘होलबडी चेकअप’ गराउँछु । दैनिक शारीरिक अभ्यास गर्ने र खानपानमा ध्यान दिए तन्दुरुस्ती रहन सकिन्छ । म बेलुका दुई रोटीमात्रै खान्छु । बिहान एक गिलास दूध पिउँछु ।

अँ–अँ’ भन्छु

कुशल वक्ता नभए पनि आफूले भन्न खोजेको विषयवस्तु प्रस्ट पार्न खोज्छु । मैले भन्न खोजेको विषयवस्तु सुन्नेले बुझिन्छ भन्छन् । आफूलाई थाहा नभए पनि भाषण गर्दा ‘अँ–अँ’ भन्छु कि जस्तो लाग्छ । आक्रामक भाषण कहिल्यै गर्दिनँ । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । तर, कहिलेकाहीं सम्बन्धितले नबुझ्दा वा मैले बुझाउन नसक्दा सामान्य विवाद हुन्थ्यो ।

चाडबामा मापसे

दैनिक नगरे पनि चाडबाड र साथीभाइबीच जमघटमा मापसे गर्छु । पहिले–पहिले जे पनि खाइन्थ्यो, पछिल्लो समय भोड्का खाने गरेको छु । सामान्यतया दुई पेगसम्म खान्छु ।

असाध्यै सुन्छु

आफू गीतकार भएकाले गीत असाध्यै सुन्छु । अंग्रेजीमा नयाँ, हिन्दीका पुराना गीत सुन्छु । नेपाली गीत धेरै सुन्ने बानी परेको छ । नारायणगोपाल, दीप श्रेष्ठ, राजेशपायल राई, मेलिना राई, अञ्जु पन्तलगायतको आवाज कर्णप्रिय लाग्छन् ।

गीतकार भएकाले र सुनेका हिसाबले पनि गीत गुनगुनाउँछु । स्वर नभए पनि गीत गाउन मन लाग्छ ।

सम्झना छैन

जीवनमा पश्चाताप लाग्नेगरी भूल गरेको सम्झना छैन । तर, कहिलेकाहीं अन्जानमै कार्यालयीय काममा आफूले भनेको सम्बन्धितले नबुझ्दा सामान्य भूल गरेको अनुभूति गरेको थिएँ ।
हाम्रो गुरुआमा जयलक्ष्मी राई हुनुहुन्थ्यो । उहाँ कडा स्वभावको हुनुहुन्थ्यो । उहाँबाट धेरैपटक पिटाइ खाएको थिएँ ।

संवत् २०३५ तिर हुनुपर्छ । म भोजपुर फर्कन लागेकाले चिट्ठी लिन साथीको डेरा पुगेको थिएँ । त्यहाँ विवाद भइरहेको रहेछ । के विषयमा विवाद परेको थियो मलाई थाहा भएन । प्रहरी जम्मा भएका थिए । म त्यहाँ पुग्दा स्थानीयले यो मानिस पनि हो भनेर त्यत्तिकै अभियोग लगाएपछि मलाई प्रहरीचौकीसम्म पुर्याए । तात्कालिक समयमा गल्ती नै नगरी सजाय पाएँ ।

४० लाखको घर

म बस्दै आएको घर ०६५ मा बनाएको हुँ । आफ्नै कमाइले घर बनाएको थिएँ । धेरै पैसा थिएन । थोरैभन्दा थोरै पैसामा घर कसरी बनाउन सकिन्छ भनेर इन्जिनियरसँग सल्लाह गरें । त्यस्तै ३०/४० लाख रुपैयाँमा घर ठडिएको हो । वास्तुशास्त्र हेराइनँ । केवल घामपानीबाट ओतिन सकिने घर बनेको छ ।

धार्मिक संस्कारमा जोड

मेरो राशी कुम्भ हो । ग्रहदशा राम्रै छ । मेरो जन्मदिनमा ग्रहशान्ति गराउँछु । लगाइरहेको नीलम हो । ज्योतिषशास्त्रअनुसार माझीऔंलामा नीलम लगाउँदा राम्रो हुन्छ भनेर लगाएको हुँ । घरपरिवारमा धार्मिक संस्कारमा जोड थियो । परिवारले हिन्दु र किरात धर्मलाई आत्मसात् गरेको थियो । हिन्दु धर्मको प्रभाव अलि बढी थियो । त्यसको छाप ममा पनि छँदै छ ।

दिन बिराएर साउना

कपालमा कहिलेकाहीं तेल लगाउँछु । फेसियल गर्दिनँ । अनुहारमा क्रिम लगाउने बानी छैन । निबियाको ‘बडी स्प्रे’ प्रयोग गर्छु । दिन बिराएर साउना बस्छु ।

प्रेमविवाह

मैले प्रेमविवाह गरेको हुँ । त्यतिबेला श्रीमतीको दाजु मेरो साथी हुनुहुन्थ्यो । साथी भएपछि उहाँको घर गइन्थ्यो । त्यहाँ श्रीमतीसँग देखादेख भयो । देखादेख भएपछि मन परापर भयो । त्यसपछि बिहेको कुरा उठ्यो । कुरा चलाइयो । बुवाआमाले दिनुभयो भनेमात्रै म बिहे गर्छु भन्ने श्रीमतीको भनाइ थियो । लामो समय प्रेम ग¥यौं । पछि माग्न गएँ । परिवारबाट हुन्छ भन्ने उत्तर आयो । त्यसपछि बिहे ग¥यौं ।

सम्पन्न भए पनि दुःखी

मुलुक प्राकृतिक स्रोत साधनले सम्पन्न छ । हामी मिहिनेती र बहादुर पनि छौं । प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि हामी दुःखी छौं ।

मैले बोल्न मिल्छ कि मिल्दैन तर मुलुक सञ्चालन गर्ने प्रणाली भएन कि भन्ने लाग्छ । हिजोआजको संस्कार ३५/४० वर्षअघिको भन्दा फरक छ । ४० वर्षअघि काठमाडौंका सडकमा भेटिएका स–साना वस्तु हामीले प्रहरीचौकीमा लगेर बुझाउँथ्यौं । हिजोआज भेटिएका पाउनु त परै जाओस्, हिँड्दाहिँड्दै खल्तीबाटै हराउन थालेको छ । तर, प्रणालीमात्रै बसाउने हो भने नेपालाई संसारकै नमुना देश बनाउन सकिन्छ ।

मेरो परिवार

परिवारमा मसहित श्रीमती सम्झना खालिङ राई, छोरी आयामिका मुकारुङ राई, छोरो अनिकेत मुकारुङ राई र नातिकी छन् ।

भालुबाँस समातेर छेउ

मृत्यु प्राकृतिक नियम हो । मृत्युदेखि डर लाग्दैन । घरछेउ (भोजपुर) मा खोला थियो । खोलामा दह बनेको हुन्थ्यो । हामी दहमा पौडी खेल्थ्यौं । स्कुल बिदाका दिन भतिज शरद मुकारुङ राईसँग पौडी खेल्न दहमा पुग्थ्यौं । दह गहिरो थियो । म ‘स्वीमर’ हुँ । म दहमा पसें । शरद ‘ननस्वीमर’ । उनी बाढीले बगाएको सुकेको भालुबाँस समातेर दहको छेउछेउ पौडिन थाल्यो ।

म दहमा भित्रबाहिर गर्दै गएँ । एकछिनपछि हेर्दा भजित देखिनँ । चिन्ता लाग्यो । दहबाहिर निस्केर चिच्याउँदा दहको सबैभन्दा गहिरो ठाउँमा फुत्त निस्केर उसले हात दियो । म समात्न प्रयासरत थिएँ । उसलाई पानीले घुमाउँदैघुमाउँदै म रहेको ठाउँमा ल्याइपुर्यायो । वनमाराको बुटा समातेर, बाढीले बगाएर ल्याएको निगालोको लठ्ठी दिएँ । उसले एक हातले लठ्ठी र अर्को हातले मलाई समात्यो । म पनि बुट्टासँग दहमा पसें ।

दहबाट फुत्त निस्कन्छौं तर हामीलाई डुबाइहाल्छ । किनकि उसले मेरो काँधमा टेकेको थियो । मलाई छोड न छोड म तँलाई निकाल्छु भन्दा पनि उसले छाडेन । दुवैले पानी खाएका थियौं । तर बाँच्ने दिन, म जति तल पुग्थें, ‘जम्प’ गर्नुपर्छ भन्ने मलाई थाहा थियो । मैले त्यसै गरें । म दहछेउको त्यस्तो ठाउँमा पुगेछु, खुट्टाको बूढीऔंलाले टेक्दा आँखाआँखासम्म पानी थियो । बिस्तारै घुमाउँदैघुमाउँदै मैले भतिजलाई उद्धार गरें ।

मृत्यु पारिवारिक बोझ र आफूलाई हीनताबोध हुने नहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार