
साबिक खार्तम्छा गाउँ विकास समिति–३, नागी सिरान । नागी हिजोआज केपिलासगढी गाउँपालिका–२, खार्तम्छामा पर्छ । नागी सिरानमा रहेको ढाल तरवार ढुंगा साम्पाङ राई समुदायको ऐतिहासिक तर वियोगान्त स्थल हो । यस स्थलबारे लिखत दस्तावेज नभए पनि मौखिक इतिहास भने छँदै छ । स्थानीय पुर्खाले सुनाउने मौखिक इतिहासले ढाल तरवार ढुंगाबारे प्रस्ट पार्छ ।
लिच्छविसँग पराजित भएपछि किराती र किराती शासकले काठमाडौंपूर्व वल्लो किरात, माझकिरात र पल्लोकिराततिर लागी राज्य विस्तार गरी शासन गरेको इतिहास ताजै छ । यसैक्रममा माझकिरातअन्तर्गत खोटाङको (साम्पाङखोला) बाँसपानीमा साम्पाङका पुर्खाले राज्य गरेको साम्पाङखोलाका पुर्खाबाट सुन्दै आएका हौं । त्यतिबेला राज्य विस्तार गर्ने पुर्खा जसहाङ साम्पाङ थिए । साम्पाङको दरबार बाँसपानीको ढोकाडाँडामा थियो भनिन्छ ।
पृथ्वीनारायण शाहले राज्य एकीकरण तीव्र बनाए । शाहले पूर्वका किरात शासकलाई स–सम्मान किपट (त्यस क्षेत्रका सबै स्वामित्व उनीहरूकै अधीनमा हुने गरी जिम्मवाल) सुम्पिए । पछिल्लो समयसम्म जग्गाको कर स्थानीय निकायमै तोकिएको कुनै राई अधिकारीलाई बुझाउनुपथ्र्यो । त्यसताका जग्गाको करलाई राई कर भनिन्थ्यो । संकलित कर स्थानीय निकायले स्थानीय विकासमा खर्च गरी केही अंश केन्द्रीय सरकारलाई पठाउँथ्यो ।
मुलुक संघीय संरचनामा गइसकेको छ । वास्तवमा संघीयताको नमुना प्रणाली त्यतिबेलै अभ्यास भइसकेको थियो । स्थानीय राज्य, आफ्नो थातथलोको जिम्मावाल र स्थानीय विकास गर्ने साम्पाङखोलाको दायित्व साम्पाङ पुर्खाको हातमा थियो । उनीहरूले इमानदारपूर्वक आफ्नो क्षेत्र र जनताका काम गरे । कर्तव्य पालन गरे । त्यतिबेला बाँसपानी राज्यको जिम्मावालमा जसहाङ साम्पाङ, बखनेम साम्पाङ (जसहाङका छोरा), तोरिहाङ साम्पाङ (बखनेमका छोरा), छिलुंमी साम्पाङ (तोरिहाङका छोरा) र सुभाङ्गी/सुभहाङ साम्पाङ (अन्तिम शासक) छिलुंमीका छोरा थिए ।
साम्पाङखोलामा सुभाङ्गीले राज गरेको हरि निरौला (केन्द्रीय सरकारसँग नजिक) लाई मन परेन । निरौला सुभाङ्गीको मितभाइ थिए । मितभाइले षड्यन्त्रपूर्वक राजद्रोह अभियोगमा सुभाङ्गीलाई केन्द्रीय सरकारसम्म पुर्याए । योभन्दा ठूलो अपराध अरू हुनै सक्दैन । सुभाङ्गीले केन्द्रीय सरकारप्रति कुभलो चिताएकै थिएनन् । तर, केन्द्रीय सरकारले निरौलाको कुरा पत्याए । केन्द्रीय सरकारले सुभाङ्गीलाई मारेर ल्याउन सेनालाई आदेश दियो । लगत्तै सेना परिचालन गरियो । हतियारधारी केन्द्रीय सेनासँग लड्ने सुभाङ्गीसँग सामथ्र्य थिएन । उसले ज्यान बचाउन आफ्ना सुरक्षाकर्मी र भएको ढाल, तरवारसहितका हातहतियार बोकेर दरबार (बाँसपानी ढोकाडाँडा) छाडे ।
सुभाङ्गीसँग बलिया घोडा थिए । उनी घोडा चढेर दरबारबाट बाहिरिए । भाग्नेक्रममा बाँसपानीबाट युङ् खिम भञ्ज्याङ (ढाल, तरवार ढुंगाभन्दा अलि पर) पुगे । आफ्ना सुरक्षाकर्मी र सहयोगीसँग बात मारी भाग्दै जाँदा हालको ढाल तरवार ढुंगानजिक पुगे । त्यहाँ पुग्दा केन्द्रीय सेनाले घेरा हालिसकेका थिए । नजिकैको ढुंगामाथि चढेर यताउति हेरे । केन्द्रीय सेनाले साम्पाङका सुरक्षकर्मीलाई मारिसकेका थिए । उनले हिम्मत हारेनन् । उनी घोडासहित त्यही ढुंगाबाट हामफाले । तर, उनी समातिए । समातिएपछि उनको शिर काट्न तयार पारियो । सुभाङ्गी धार्मिक अनि सत्यवादी थिए ।
‘मैले केन्द्रीय सरकारप्रति अपराध चिताएको रहेछु भने मलाई काट्दा रगत आउँछ,’ मर्नअघि उनले भनेका थिए रे, ‘म सत्य हो भने दुध आउँछ ।’ नभन्दै उनको शिर काटियो । शिर काट्दा दुध आयो । केन्द्रीय सरकारलाई देखाउन सुभाङ्गीको टाउको काठमाडौं लगियो । वास्तवमा सुभाङ्गी अति नै सत्य र सिद्ध थिए । तसर्थ, सत्य र सिद्धको प्रतीकस्वरूप उनका जति पनि शाखा सन्तान (विशेषतः तोरिहाङ अहिले पाछा बनिसकेको छ) बाँसपानी, लुङ्खिया र तोमानेका दाजुभाइ मिलेर सालिन्दा ढाल तरवार ढुंगादेखि केही तल ढुंगाको प्रतिमा बनाई सिद्धबाजेका रूपमा पूजाआजा गर्दै आइरहेका छन् ।
सुभाङ्गीको टाउको काठमाडौं पुर्याइयो । राजाले हेरेपछि बूढानीलकण्ठको सिमसारमा फालियो । त्यही ठाउँमा अहिलेको बूढानीलकण्ठ उत्पन्न भएको विश्वास गरिन्छ । निर्दोष अनि धार्मिक मानिसलाई मार्ने आदेश दिइएकाले सुभाङ्गीले राजखानदानलाई अबउप्रान्त मेरो अघि नआउनू भनी श्राप दिएको बताइन्छ । तसर्थ, शाही राजाहरूले बूढानीलकण्ठको दर्शन गर्ने आँट कहिल्यै गरेनन् । सुभाङ्गीको टाउको फालिएको ठाउँ अति गोप्य राखिएको बताइन्छ ।
साम्पाङ समुदायका कुवि (धामी) ले रिसिया फलाक्दै ‘हमँ चेउ पा चेउ पोकनिवो’ भन्दै मुन्दुम फलाक्दै चोखो जाँड र अदुवा छर्के भने भूकम्प गएजसरी बूढानीलकण्ठमा कम्पन हुने बताइन्छ । साम्पाङका सत्यवादी पुर्खा मारिएको स्थलै ढाल तरवार ढुंगा हो । त्यहाँ ढाल, तरवार, खुकुरी, धनुकाँड आदि हातहतियारको आकृति प्रस्टै देखिन्छ । घोडाको टाप, रगत बगेको धर्सासमेत देख्न सकिन्छ । सुभाङ्गी धार्मिक भएकाले अहिलेसम्म सबै आकृति जस्ताको तस्तै छन् । यो ठाउँ वियोगान्त र ऐतिहासिक स्थल मानिन्छ । ढाल तरवार ढुंगा नामै काफी छ । यो ठाउँ उचाइमा रहेको छ । ऐतिहासिक ठाउँलाई पर्यटनसँग जोड्नैपर्छ ।

6 पटक हेरिएको 

