चर्चित चेपाङगढी

  कमलजंग राई  8 पटक हेरिएको

माझकिरातअन्तर्गत भोजपुरका विभिन्न ठाउँमध्ये उर्वरायुक्त जमिन र वनक्षेत्र बढी हुने स्थानमा कम दूरीमा पर्ने गरी स्वतन्त्र किरात इकाइ राज्य स्थापना गरिँदै आएको देखिन्छ । तसर्थ भोजपुरको आर्थिक र सामरिक महत्व भएका क्षेत्रमा तिनै किरात शासकले स्थानीय शासन प्रयोग गर्दै लैजानेक्रममा भने यस जिल्लाको पश्चिम, मध्ये र पूर्व–दक्षिणसम्मको क्षेत्रमा किरात इकाइ राज्य थियो भन्ने देखिन्छ । उक्त राज्यहरूले आ–आफ्नो क्षेत्राधिकार सुरक्षार्थ सामारिक महत्वका क्षेत्रमा गढी (किल्ला) निर्माण गरेका थिए । ती गढीबाट शत्रु पक्षका सैन्य दस्तालाई प्रतिकार गरी किरात इकाइ राज्य जोगाउने प्रयत्न भएको थियो भन्ने देखिन्छ । अनुसन्धानकर्ताले क्षेत्रगत निरीक्षण गर्दा त्यहाँ पाएका गढीको संख्या र उक्त गढीबाट प्राप्त भग्नावशेषका आधारमा उल्लिखित विवरणको पुष्टि हुने देखिन्छ । यसर्थ गढीको संख्या र यसबाट प्राप्त भग्नावशेषको तथ्यात्मक सूचना लिई भोजपुरका ऐतिहासिक गढीमध्ये चेवाङ गढीबारे चर्चा गर्ने प्रयत्न गरिएको छ ।

पौवा क्षेत्रअन्तर्गत किरात राई शासकले आफ्नामातहतमा रहेका आमनागरिकलाई कृषि तथा पशुपालन व्यवसाय गर्ने उचित समय जानकारी गराउँदा अग्लो डाँडामा बसी स्वरले भ्याएसम्म कराउँदै जानकारी दिने परम्पराका कारण किरात शासक कराउने ठाउँलाई चेवाङ डाँडा भन्ने गरियो । त्यही चेवाङडाँडाबाट आफ्नो क्षेत्राधिकारको सुरक्षा गर्ने उद्देश्य राखी किल्ला (गढी) निर्माण गरिएपछि चेवाङडाँडाबाट यसको नाम चेवाङ गढी हुन गयो । चेवाङ गढी शब्द उच्चारणमा अपभ्रंश हुँदा चेपाङ गढीको नामबाट यस क्षेत्रलाई सम्बोधन हुँदै आएको कथन पाइन्छ । हाल चेवाङ/चेपाङ गढीको अवस्थिति हेर्दा सानोदुङ्मा, जरायोटार, चरम्बी, प्याउली, तिवारी भञ्ज्याङ र च्याङ्ग्रे गरी साबिक ६ गाउँ विकास समितिबीच साबिक याकु गाविसमा चेवाङ/चेपाङ गढी पर्छ । उचाइमा रहेको गढीमार्फत तिनै किरात राई शासकले आफ्ना क्षेत्राधिकार सुरक्षा गर्दै आएका थिए ।

चेवाङ/चेपाङ गढीका शासकले क्षेत्राधिकारको सुरक्षा गर्नुको अतिरिक्त प्राकृतिक स्रोत उपयोग गरी कृषि तथा पशुपालन व्यवसायलाई जोड दिई स्वावलम्बी स्वायत्त राज्य निर्माण गर्ने कार्यमा खटिरहन्थे । उक्त कार्य सम्पन्न गर्न उर्वरायुक्त माटो छनोट र पशुपालन व्यवसायका लागि घाँसेमैदान क्षेत्र तोकिदिएका थिए । तदनुरूप सामूहिक श्रम गर्ने परम्पराका आधारमा अरुण बेंसी क्षेत्रमा धान खेती गर्ने र घाँसेक्षेत्रमा पशुपालन गर्थे ।

हिउँदमा बस्तु बेंसी झार्ने र बर्खामा लेक निकाल्ने काम पशुपालकले गर्थे । यसरी कृषि तथा पशुपालनमा बढी केन्द्रित चेवाङ/चेपाङ गढीका शासक हुनाले अन्य गढीको तुलनामा यो गढी आर्थिक सम्पन्न भएको क्षेत्र थियो । तसर्थ, यस गढीका शासक उत्पादन प्रणालीमा केन्द्रित रहँदै आए पनि गढीनजिक पर्ने पौवागढी र याङपाङ गढीसँग छिटपुट रूपमा युद्ध हुने गरेको कथन पाइन्छ । हालसम्म चेवाङ/चेपाङ गढीको संरक्षण एवं सम्बद्र्धन हुन नसक्दा गढीसम्बद्ध भग्नावशेष भइसकेको छ भने गढी क्षेत्र वन उपभोक्ता समितिमातहतमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार