
जिल्लाको खिल्कु र महुरेबीचमा पर्ने महुरे गढी ऐतिहासिक गढी मानिन्छ । महुरेडाँडामा रहेको गढी रणनीतिक हिसाबले असाध्यै महत्वपूर्ण स्थानमा छ । लामो समय संरक्षणमा ध्यान दिइएन । पछिल्लो समय तारबार गरी संरक्षण गर्न थालिएको छ ।
महुरे गढी किराती राजा कमलको गढी हो । झन्डै १५/२० स्क्वायर फिट किल्लाको भग्नावशेष छँदै छ । भग्नावशेषको गारो केही वर्ष अघिसम्म तीन÷चार फिट अग्लो देखिन्थ्यो । संरक्षण अभावमा गोठालाले गारो भत्काएको महुरेगढी संरक्षण समिति अध्यक्ष दिनेश राई बताउँछन् । डाँडाको टुप्पोमा रहेको गढी रणनीतिक दृष्टिकोणले महत्वपूर्ण छ । कमल राजाको दरबार भने गढीको झन्डै पाँच सय मिटर दूरीमा रहेको थामडाँडा (थामखर्क) मा पर्छ । अहिलेसम्म दरबारको भग्नावशेष प्रस्टै देखिन्छ । त्यो ठाउँलाई कमल पौवा पनि भनिन्छ । दरबारनजिकै एउटा पोखरी छ । ‘उक्त पोखरी (आहाल) लाई रानी आहाल भनिन्छ । अहिले पनि आहालको पानी गाईबस्तुले खाने गर्छन्,’ खिल्कुनिवासी शिक्षक रत्नमणि राई सुनाउँछन्, ‘राजारानीले त्यही पोखरीमा नुहाउँथे ।’
‘यस क्षेत्रका राजा सेन–मकवान थियो । पृथ्वीनारायण शाहले पूर्वबाट विजय गर्दै आउनेक्रममा उनलाई पराजित गरेका थिए,’ स्थानीय भोटबहादुर राईको भनाइ छ, ‘महुरे गढीमा भीषण लडाइँ भएको थियो ।’ सेन राजाअन्तर्गत किरातीहरूले यस क्षेत्रमा स्वायत्त शासनको अभ्यास गरेको राईको भनाइले संकेत गर्छ ।
महुरे गढीबाट झन्डै एक सय मिटर तल पहाड काटेर बनाइएका लामा–लामा गहिरा (झन्डै १२/१५ फिटको) खाडल थियो । हिजोआज पुरिँदै गएकाले झन्डै तीन/चार फिट
(कतै–कतै अलि धेरै) का छन् । त्यस्ता संरचना झन्डै २५/३० मिटरको दूरीमा १०/१५ वटा छन् ।
‘ती खाडललाई आधुनिक भाषामा युद्धका निम्ति बनाइएका ‘ट्रेन्च’ हुन्,’ स्थानीय एक भूतपूर्व सेनाले आफूलाई सुनाएको प्रसंग शिक्षक राईले प्रस्ट्याए, ‘शत्रु पक्षका सेना आक्रमण गर्न आउँदा धरापमा पार्न वा उक्त स्थानबाट आक्रमण गर्न निर्माण गरिएका हुन् ।’ महुरे गढी किल्ला हो भनेर प्रस्टै छ । किराती राजाहरू युद्धकलामा निपुण थिए ।

6 पटक हेरिएको 

