मनमोहक मझुवागढी

  भोगीराज चाम्लिङ  6 पटक हेरिएको

मझुवागढी समुद्र सतहदेखि १९५० मिटर उचाइमा रहेको छ । गढी सामरिक हिसाबले ज्यादै महत्वपूर्ण उचाइ र स्थानमा रहेको छ । गढीका केही अवशेष अहिले पनि पहिचान गर्न सकिनेगरी चिन्न सकिने अवस्थामा देखिन्छ । कतिपयचाहिँ मौखिक भनाइमा मात्रै सीमित छन् । यो गढी कम्तीमा ३०० वर्षभन्दा प्राचीन हो भन्ने कुरा मझुवागढीका ज्ञात राजा रणवीर राय (राई) को स्मृतिमा स्थापित चौतारोबाट स्पष्ट हुन्छ । ‘यो गढी ७०० वर्ष पुरानो मानिन्छ,’ स्थानीय बमबहादुर राईको भनाइ छ, ‘राजा रणवीरभन्दा १६ पुस्ताअगाडिका बधुवा राजा थिए । उनैका वंशका हुन्– रणवीर राई ।’

मझुवाडाँडाको सबैभन्दा चुच्चोमा रहेको सानो मैदानमा गढी रहेको स्थानीय बताउँछन् । त्यहाँ घरको गोलो जग प्रस्टै देख्न सकिन्छ । रणवीर राई त्यहीं बस्थे । किरात क्षेत्रका गढीको जगको अवशेष अध्ययन गर्दा गोलो पाइन्छ । मझुवागढीको पनि त्यस्तै संरचनामा थियो भन्ने सहज अनुमान अवशेषका रूपमा रहेको जमिनबाट थाहा हुन्छ । अहिले त्यसमाथि अष्टकोणीय ढुंगाको गाह्रो उठाइएको छ । यो बिल्कुल नयाँ संरचना हो, जुन गढी यस्तो थियो कि भन्ने अनुमानमा निर्माण गरिएको हो । गढीको गारोसमेत देख्ने मौका पाएका स्थानीय कर्णबहादुर राई भन्छन्, ‘मझुवागढीको गारो चारपाटे थियो । चारै पाटामा बाहिर हेर्न मिल्नेगरी खोपाजस्ता स–साना दुलो पनि बनाइएका थिए ।’ त्यस्तो उचाइका हिसाबले मान्छेको कम्मरभन्दा अलि माथि थियो । ढुंगाको गारो त्योभन्दा अझै माथिसम्म थियो ।
स्थानीय कुशबहादुर राईले गढीका चर (जग) चाहिँ देखेका थिएँ । उत्खनन गर्ने हो भने गढीको जग फेला पार्न सम्भव हुन सक्छ ।

गढीभन्दा थोरै दक्षिणतिर त्यस्तै गोलो जग भएको जमिन देखिन्छ । त्यसलाई स्थानीय द्वारे बस्ने ठाउँ भनेर कुशबहादुरले सुनाए । द्वारेप्रथा सुरु भएपछि त्यहाँ द्वारे बस्थे होलान् । गढीका राजालाई मद्दत गर्ने मुख्य व्यक्ति त्यहाँ बसेको हुनुपर्छ । त्यस्तो व्यक्तिका लागि प्रयोग हुने शब्द लोप भएकाले बुझ्न–बुझाउनका लागि पछिल्लो समय प्रयोगमा आएको शब्द द्वारे हुनुपर्छ ।

जिल्लाकै हलेसीगढीमा पनि राजा बस्ने गढीछेउमै यस्तै गोलो चउर छ । चउरलाई त्यसबखतका किरात सेनाले परेड खेल्ने थलो हो भनेर स्थानीय बताउँछन् । त्यस्तो गोलाकार मैदानको प्रयोग सार्वजनिक छलफल अथवा न्याय निसाफ गर्नका लागि पनि प्रयोग हुन्थ्यो । तसर्थ, राजा बस्ने गढीछेउमा यस्तो गोलाकार चउर बनाइने गरेको हो ।

गढीलाई वरिपरि गोलाकार रूपमा घेरेर निर्माण गरिएको सुरक्षा घेरा अहिले पनि प्रस्टै देख्न सकिन्छ । यसप्रकारको सुरक्षा घेरा भूगोलअनुसार फरक–फरक तरिकाले निर्माण गरिएको देखिन्छ । त्यस्तो सुरक्षा घेरा हलेसीगढीमा परपरसम्म लाम्चो गरी फैलिएको छ । भुम्जुमा रहेको च्यास्मीगढीमा चाहिँ सुरक्षा घेरा गढीको दायाँ र बायाँतिर निर्माण गरिएको छ । मझुवागढीमा चाहिँ गढीलाई वरिपरिबाट घेरेर लाम्चो गरी चारैतिर निर्माण गरिएको छ ।

गढीको सुरक्षाकर्मी बस्ने भनिएको उत्तरतर्फ ३०/४० मिटरको लम्बाइ र तीन मिटर चौडाइको एउटा दुवैतर्फ खोल्सी परेको देखिन्छ । त्यसलाई गढीको सुरक्षा गर्न र लडाइँको बेला लुकेर हतियार चलाउने ट्रेन्च (नाली) छ । गढीको सुरक्षाकर्मी बस्ने भनिएको उत्तरतर्फ ३०/४० मिटरको लम्बाइ र तीन मिटर चौडाइको एउटा दुवैतर्फ खोल्सी परेको देखिन्छ । त्यसलाई गढीको सुरक्षा गर्न र लडाइँको बेला लुकेर हतियार चलाउने ट्रेन्च (नाली) छ । त्यस्तै पश्चिमतर्फ पनि ३० मिटर लम्बाइ र तीन मिटर चौडाइको नाली छ । दरबारको दक्षिण–पश्चिमतर्फको नाली र पूर्वतर्फको नालीचाहिँ पुरिएको छ ।

गढीको मुख्य भागको उत्तर देवीस्थान मन्दिरतर्फ तीन सय मिटरको दूरीमा तारा खसेको भनिएको खाल्डो छ । त्यहाँ गोलाकार खाल्डो प्रस्टसँग देखिने तत्कालीन बंकर हो भन्ने देखिन्छ ।

मझुवागढीसम्बन्धी अनुसन्धान गरेका टंकबहादुर थापाले गढीका संरचनालाई एकीकरणपूर्व र पछिको गरी विभाजन गरेका छन् । उल्लिखित चार स्थानचाहिँ एकीकरणपूर्वका हुन् भने बाँकी केही स्थल एकीकरणपछिका पनि रहेका छन् ।

यसैगरी गढीको दक्षिण–पश्चिम करिब २५० मिटर दूरीमा राँगा आहालचाहिँ पुरिसकेको छ । त्यो ठाउँमा अहिले तीन चुला स्थापना गरिएको छ । जहाँ साकेला नाच्ने गरिन्छ । ‘मेरो बाजे पुर्खा दसैंमा धनुकाँड, तरवारलगायतका हातहतियार लिएर त्यहाँ जानुपथ्र्यो,’ कुशबहादुर राईले जानकारी गराए, ‘त्यो ठाउँमा पहिले–पहिले सरकारका तर्फबाट दसैंमा राँगा काटिन्थ्यो । द्वारेले राँगाको मासु सबैलाई बिलो बाँडिदिन्थे । अनि घरमा लगेर दसैं मान्नुपथ्र्यो । दसैंको नौरथामा नौ दिन जानुपथ्र्यो । अष्टमीको दिन राँगा मार हान्थे । त्यो राँगाको मासुचाहिँ सबैले बाँडिलानुपथ्र्यो । जसको शक्ति, उसको भक्ति । सक्नेले धेरै लान्थे, नसक्ने थोरै ।’ उल्लिखित दृष्टान्तले किरात राईलाई राज्यले कसरी दसैं मान्न सिकाए भन्ने प्रस्ट छ ।

गढीभन्दा उत्तरतर्फ छेउमा ठूलो ढुंगामा ओखलजस्तो कुँदिएको छ । कुशबहादुर भन्छन्, ‘त्यहाँ बारुद कुटिन्थ्यो ।’

देवीस्थानछेउको बंकरदेखि गढीको मुख्य भागसमेत र राँगा आहालसम्मको दूरी ६८० मिटरजति छ । यो गढीको वृहत् क्षेत्र हो । गढीको पश्चिमतर्फ केही भिरालो भागमा जंगल र पूर्वी मोहडामा सशस्त्र प्रहरी बलको क्याम्प छ । सशस्त्रको क्याम्प बसेपछि गढीको पूर्व मोहडाको भाग ओगटिएको छ । गढीमा गएर अवलोकन गर्दा गढी क्षेत्रलाई दुई भागमा बाँडेर हेर्न सकिन्छ । गढीको मुख्य भाग सीमित रहेको छ भने बाहिरी भागले धेरै क्षेत्रफल ओगटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार