
हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान, कात्तिकेका राइखुम र रोदुङहँमाको पाँच सन्तानमध्ये चार सन्तान मिङबोसी रिङबोसी, नामबोसी र लुङ्बोसीले अटलसिंह खम्बूको सेनामा भर्ती भएर लडाइँ लड्न सघाए । डेढ वर्षपछि लुङबोसी घर फर्के । उनी घर फर्केपछि थाहा भयो, ‘तीन दाइले युद्धमा ज्यान गुमाए ।’
तीनै भाइ हतुवागढी लडाइँमा सहिद भए । घर फर्केको ६ महिनापछि कान्छा लुङबोसी फेरि लडाइँ लड्न जानुपर्ने खबर आयो । आज्ञाकारी उनी गए । त्यसपछि उनी घर फर्केनन् । उनी लडाइँमा परे वा जीवितै छन्, अत्तोपत्तो छैन ।
‘पृथ्वीनारायण शाहको सेनाविरुद्ध आफ्नै हजुरवुबाहरूले हतुवागढी, भोजपुरमा बलिदान दिएकामा गौरवान्वित छु,’ रत्नकुमार राई ‘दर्शन’ले जानकारी गराए, ‘जेठा साखामबोसी पनि युद्धमा गएका भए हाम्रो वंश (पुर्खा) रहँदैनथे ।’ तिनै साखामबोसीका सन्तान दर्शन हुन् ।
नेपालको राजनीतिक इतिहासमा माओवादी जनयुद्ध एक निर्णायक कालखण्ड हो । जहाँ विचार, बलिदान र जनसमर्पणले राजनीतिमात्र होइन, समाजको मुहारै परिवर्तन गर्यो । यस कालखण्डमा कसैले हतियार उठाए, कसैले कलम । कसैले खेतको आलीदेखि संसद्को भित्तासम्म क्रान्तिको गीत गुञ्जाए । त्यसै इतिहासका सादा तर गहिरा क्रान्तिकारी पात्र थिए– रत्नकुमार राई ‘दर्शन’ । उनी ‘दर्शन कमरेड’ भनेर चिनिन्छन् । उनी आजको पुस्ताका लागि नेपालका माओ त्से तुङझैं लाग्छन् । कथाभन्दा कर्ममा उत्रेका, शब्दभन्दा संघर्षमा बोल्ने एक युगीन सिपाही ।
संवत् २०२२ मंसिर १५ गते सामान्य किसान परिवारमा जन्मेका दर्शन कमरेडको बाल्यकाल श्रम, सपना र अभावसँगै बित्यो । बुवा आनन्दजित राई र आमा भाग्यशोभा राईको कोखबाट जन्मेका उनको औपचारिक शिक्षा कक्षा ९ । उनका लागि जीवनले सिकाएका पाठ विश्वविद्यालयभन्दा कमका थिएनन् । बाल्यकालमै विद्रोहको बीउ रोपेका उनले ०३६ मा अखिल एकताको पाँचौं राष्ट्रिय भेलामार्फत राजनीतिमा हलेसी क्षेत्रबाट प्रवेश गरे ।
राजनीतिक दीक्षा
०३६ को जनमतसंग्रहमा बहुदलीय प्रणालीको पक्षमा व्यापक प्रचार अभियानमा लागेका उनका लागि यो पहिलो राजनीतिक परीक्षा थियो । ०४६ को जनआन्दोलनमा उनी वाम मोर्चामा सम्बद्ध भई पञ्चायतविरुद्ध संघर्षमा उत्रे । त्यसपछि, माले र माक्र्सवादी एकतापछि बनेको नेकपा (एमाले) का उनी जिल्ला कमिटी सदस्य बने । पदका लोभी थिएनन् । उनी विचारका खोजीमा थिए ।
जनयुद्ध र माओवादी प्रवेश
जनतासँगै, जनताका लागि ०५४ साल निर्णायक साबित भयो । जब उनले नेकपा (माओवादी) को किसान संगठनमा प्रवेश गरे, त्यो केवल राजनीतिक रूपमा होइन, जीवनपद्धति नै परिवर्तन हुने मोड थियो । उनले काम गर्ने सिलसिलामा जनयुद्धको सिलिचुङ आधार क्षेत्र सुङ्देल सूर्य माध्यमिक विद्यालयबाट २७ विद्यार्थी र एक शिक्षकलाई माओवादीमा ‘होलटाइमर’ गराएको कामको उपलब्धि सम्झनयोग्य छ । यो घटना प्रतीकात्मकमात्रै थिएन, सामाजिक जागरण थियो ।
जनयुद्धमा बारम्बार ज्यानको जोखिममा परे । एकपटक तात्कालिक शाही सेनाको घेराबन्दीमा परेका बेला उनलाई लक्षित गरेर गोली चल्दा उनको छेउमै रहेका सहयोद्धा ढले । यति नजिकबाट मृत्युको अनुभव गरिसकेका उनी कत्ति पनि नडराई, नथाकी अघि बढे ।
नेतृत्व र निष्ठा
एकपटक हलेसीमा भएको जिल्ला पार्टी बैठकमा सहयात्रीहरू भावविह्वल हुँदै रोए । दुई दिनसम्म बैठक रोकियो । त्यस्तो गहिरो आत्मीय सम्बन्ध, राजनीतिक भावुकता र प्रतिबद्धता आजका पुस्ताका लागि केवल सुन्ने कथा बनेका छन् । बिरामी अवस्थामा पनि पार्टीले उपचार गर्न नसक्दा उनले आफ्नै जग्गा बेचे । नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश उपाध्यक्ष पृथ्वी किराती र कमरेड उत्तर राईलाई साक्षी राखेर जग्गा बेची उपचार गरे । त्यही पैसाले स्काभेटर किनेर व्यवसाय सुरु गरे । हलेसीमा घर बनाए । तर, त्यो घर हेर्दा कहिलेकाहीं उनलाई पीडामाथि पीडा हुन्छ । कोही जनयुद्धमा कमाएर घर बनाएको भन्छन् । त्यस्ता भनाइले क्रान्तिका सच्चा सिपाहीलाई हिजोआज पनि घोचिरहन्छ । ‘यो घर होइन,’ उनको बुझाइ छ, ‘ओत लाग्ने ओढारमात्रै हो ।’
अडिलो अडान
अशोककुमार राई, गणेश राई र बच्चु राईहरू संघीय समाजवादीतिर लागे । गोपाल किरातीले ‘किरात गणराज्य’ प्रस्ताव राखे । तर, उनको अडिलो अडान थियो, ‘म कम्युनिस्ट भएरै बाँच्छु र कम्युनिस्ट भएरै मर्छु ।’ समाज परिवर्तन सम्भव छ तर सही विचारको जरुरत पर्ने उनको ठम्याइ छ । समाजको पछि होइन, अघि लागेरमात्र परिवर्तन सम्भव छ । यो मान्यता नेपाली राजनीतिले लिनुपर्ने अमूल्य शिक्षा हो ।
माओसँग तुलना
माओ त्से तुङ चीनको सामाजिक पुनर्निर्माणका लागि जन्मेका युग प्रवर्तक थिए । त्यसै युगचेतनाको आँधीका रूपमा दर्शन कमरेड हलेसी, खोटाङमा जन्मे । माओले झैं दर्शन कमरेडले साना गाउँ, मजदुर, किसान, विद्यार्थी समूहमार्फत आन्दोलनको मुटु तयार पारे । माओले जनताको नक्सा पढेर युद्धको रणनीति बनाए । दर्शनले जनताको अनुहार पढेर विश्वासको गढ बनाए ।
माओले पनि जीवनभर युद्ध, अभाव र आलोचना सहे । दर्शनले जनयुद्ध, रोग, घृणा र विस्मरणसँग लडे । दुवैले सामन्ती सत्ताको आधारलाई टक्कर दिँदै गाउँ–गाउँमा क्रान्तिको बीउ रोपे । दर्शन हिजोका मात्रै होइन, भोलिको पनि आदर्श हुन् । उनको यात्रा कुनै व्यक्तिगत कथा होइन, नेपालीको यात्रा हो, सपना हो र संघर्षको नक्सा हो । उनी भौतिक दृष्टिले सामान्य व्यक्ति हुन सक्छन् तर विचारको दृष्टिले शक्तिशाली अभियानमै छन् ।
आजका पुस्ताले उनका घाउ, आँसु, अडान, विश्वास, सिद्धान्त र दुःखलाई केवल सुन्नुहुँदैन । बुझ्नुपर्छ । अंगीकार गर्नुपर्छ । उनी माओजस्तै हुन चाहेका होइनन्, आफैँ नेपाली माओ बन्न पुगेका हुन् ।

133 पटक हेरिएको 

