
दुर्छिम (खोटाङ) । गायक तथा संगीतकार नरेन्द्र राईको फलफूल बगान घुम्ने मौका मिल्यो । काठमाडौंबाट गाउँ फर्केर फलफूल तथा तरकारी खेतीमा रमाइरहेका गायक तथा संगीतकार राईले ४०० बिरुवा हुर्काइसकेका छन् । फलफूलदेखि काठपातका लागि प्रयोग गरिने बिरुवा हुर्काइरहेको उनले जानकारी गराए ।
भएको खेतबारी कसरी सदुपयोग गर्न सकिएला भन्ने चिन्तन गरिरहेका उनले इन्द्रेणी सपना देखेका छैनन् । ‘परिवारसँग बस्ने हो,’ उनको मान्यता छ, ‘पुख्र्यौली खेतबारी सदुपयोग गर्ने लोभ छ । सम्भव भएसम्म हरियाली बनाइरहने ।’
हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, वानाम्लामा रहेकाो राईनिवास पुग्दा उनले फलाएको फलफूल पेटभरि खान पाइयो । बगानको शीतल ताप्दै फलफूल खानुको आनन्द शब्दमा व्यक्त गर्न सजिलो छैन । फलफूल खाएर बगान घुम्दाको आनन्द खनिखोस्री साध्य छैन । गरे हुने रहेछ नि नरेन सर । तपाईंको अवधारणा मिहिनेतमार्फत फुल्दै फलिरहेको देख्दा कम्ती लोभ लागेन ।
‘ओमाला’ भनेको सल्लाघारी हो । ‘रुख्माला’ को शाब्दिक अर्थ बाँसघारी हुन्छ । ‘वानाम्ला’ भनेको के हो ? ‘वानाम्ला भनेको पानी नपर्ने खडेरीघारी अर्थात् सुक्खा ठाउँ हुन्छ । अर्थात् चाम्लिङ भाषामा चैत महिनालाई पनि ‘वानाम्ला’ भनिन्छ,’ कवि तथा लेखक तिलक चाम्लिङले सुझाए, ‘वानाम्लालाई त यसरी हरियाली बनाउन सकिन्छ भने हामी बोहेम्माली, साल्तेमालीहरूले नरेन्द्र राईको पौरख हेरेर पनि घरघुर्यान हरियाली बनाउनुपर्ने भयो । यसको सुरुवात किरात वनबाट भइसकेको छ ।’

127 पटक हेरिएको 

