
वस्तुतः संस्कृति भनेको मानिसले जीवनयापन गर्नेक्रममा अवलम्बन गर्ने जीवनशैली हो । सामान्यतया रीतिथिति, परम्परा, भेषभूषा, खानपान, चाडबाड, नाचगान आदिलाई संस्कृतिका रूपमा बुझ्ने गरिन्छ । यसरी संस्कृतिलाई संकुचित अर्थमा मात्र बुझ्नु राम्रो होइन । कुनै पनि जाति, वर्ग र समुदायले मानिसको सृष्टिकालदेखि नै अनवरत रूपमा अवलम्बन गर्दै आएको, अंगीकार गर्दै आएको समय क्रियाकलापको समष्टि रूपै संस्कृति हो । संस्कृति भौतिक तथा अभौतिक गरी दुईप्रकारका हुन्छन् । भौतिक संस्कृतिभित्र भौतिक वस्तु (देख्न र छुन सकिने) खानपान, रहनसहन, भेषभूषा, नाचगान, खेलकुद, वास्तुकला, चित्रकला, मूर्तिकला, बाजागाजा, हातहतियार आदि मानवनिर्मित वस्तु पर्छन् मने अभौतिक संस्कृतिभित्र अभौतिक वस्तु (देख्न र छुन नसकिने) भाषा, साहित्य, धर्म, दर्शन, विचार, आस्था, मूल्य–मान्यता, सीप, कला, इतिहास, पूराकथा, मिथक, गीत, संगीत, मायाप्रीति, रोदन, क्रन्दन, ज्ञान, विवेक, रुचि, स्वभाव आदि अमूर्त वस्तु पर्छन् । मानिसले प्राचीन समयदेखि निरन्तर रूपमा जीवनयापन गर्नेक्रममा बिस्तारै थाहै नपाई संस्कृति निर्माण हुने गर्छ ।
किरात राई समुदाय संस्कृति सम्पन्न जातिका रूपमा प्रसिद्ध छन् । यी जातिमा अनेकौंप्रकारका मूर्त र अमूर्त मौलिक संस्कृति छन् । विभिन्नप्रकारका संस्कृतिमध्ये प्रस्तुत आलेखमा किरात राई समुदायमा प्रचलित मौलिक अमूर्त संस्कृति परम्परागत उपचार पद्धतिबारे चर्चा गरिएको छ ।
किरात राई समुदायको सांस्कृतिक आधार मुन्दुम हो । मुन्दुम भनेको किरातीको जीवन–दर्शनको आदर हो । किरातीको सम्पूर्ण धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलाप मुन्दुमद्वारा निर्दिष्ट हुन्छ । मुन्दुम किरातीको दार्शनिक आधार पनि हो । किराती मुन्दुमअनुमार मानिस मरेर गए पनि आत्मा कहिल्यै मर्दैन । यही मान्यताअनुसार किरातीले आफ्ना पितृलाई चुलामा प्रतिस्थापित गरेर राख्ने गर्छन् । प्रत्येक वर्ष तिनै मृतक पुर्खाका आत्मालाई विधिपूर्वक पूजाअर्चना गर्छन् । यसरी चुलामा राख्दा सम्पूर्ण पुर्खाको आत्मालाई राखिँदैन । कालगति वा सहज ढंगले पाका अवस्थामा मृत्यु भएकाको आत्मालाई आफ्नो चुलामा राखेर पूजाआजा गर्ने गरिन्छ भने कसैको मृत्यु असहज ढंगले अर्थात् लडेर, झुन्डिएर, विष खाएर वा हत्या गरेर भएको भए त्यसप्रकारको मृतकको आत्मालाई भने चुलामा नराखी घरबाहिरै राख्ने गरिन्छ । उमेर पुगेर वा सहज ढंगले मृत्यु भएमा मानिसको आत्मालाई इष्टदेवताका रूपमा मानिन्छ भने असहज मृत्यु भएका आत्मालाई भने नकारात्मक आत्मा वा शक्ति प्रेतात्माका रूपमा जसले मानिसलाई दुःख दिन्छन् भन्ने विश्वास किरातीमा देखिन्छ । त्यसैले कुनै पनि मानिसलाई रोग भएमा भूत वा प्रेतात्मा लाग्यो भनेर, कि त प्रकृति रिसायो भने धामीझाँक्रीद्वारा उपचार गराइन्छ ।

किरात राई समुदायमा प्रचलित परम्परागत उपचार पद्धति भनेको झारफुक जडीबुटी परम्परै हो । यो प्रचलन वर्तमान सहरिया तथा शिक्षित किरातीले समेत अंगीकार गर्दै आएको देख्न सकिन्छ । जुन घरमा बिरामी भएको छ, त्यो घरका मानिसले नजिकको वा आफूले सधैं चलाउने धामीझाँक्रीलाई बोलाएर सर्वप्रथम जोखना हेराइन्छ । धामीले जोखना हेरेपछि बिरामी के कारणले भएको हो पत्ता लगाउने गर्छन् । सोहीअनुरूप उपचार गर्ने गर्छन् । धामीझाँक्रीले उपचार गर्नुपूर्व सर्वप्रथम तीन चुलामा पितापुर्खाको आत्मालाई सम्बोधन गर्दै शक्ति माग्छन् । त्यसपछि दुःख दिने प्रेतात्मा वा प्रकृतिलाई विधिपूर्वक फकाउने गरिन्छ । लौ है सिमेभूमे, सिकारी, तिमी पितृहरू, यो अन्जान मुर्खले (बिरामीलाई देखाउँदै) जानेर वा नजानेर केही गल्ती ग¥यो होला, यसलाई क्षमा गरिदेऊ है । अब आइन्दा कुनै गल्ती गर्दैन, यसलाई दुःख बिमार नगरिदेऊ है । हामी तिमीलाई यो चढाउँछौं भन्दै (आवश्यकताअनुसार अन्डा, कुखुरा, सुँगुर काटेर वा बखान गरेरमात्र भए नि) प्रेतात्मालाई पुकारिन्छ । बिरामीको सातो (हंश, आत्मा) गएको रहेछ वा प्रेतात्माले लगेको हो रहेछ भने सातो बोलाएर ल्याउने गरिन्छ । धेरै टाढासम्म बिरामीको सातो पुगेको रहेछ भने धामीझाँक्रीले विधिपूर्वक थान थापेरै चिन्ता बस्नुपर्ने हुन सक्छ । त्यसपछि रातभरि चिन्ता बसेर बिरामीको सातो बोलाएर उसको कानबाट सातो ल्याउने गरिन्छ ।
यसरी हेर्दा के देखिन्छ भने किरात राई समुदायमा कुनै पनि मानिस बिरामी हुनु भनेको उसको शिर ढल्नु (आत्माविश्वास गुम्नु) हो र यस्तो अवस्थामा भूतप्रेतले सहजै दुःख दिने, पीडा दिने गर्छन् र मानिस बिरामी हुने गर्छ भन्ने विश्वास गरिन्छ । यसका अतिरिक्त प्राकृतिक शक्तिलाई पनि किरातीले प्राकृतिक देवीका रूपमा पूजाआजा गर्ने गर्छन् । त्यसैले प्रकृति रिसायो भने पनि मानिस बिरामी हुने गर्छ भन्ने विश्वास गरिन्छ ।
त्यसैले पानीको मूल, बोटबिरुवा, पोखरी, ढुंगा आदि ठाउँमा दिसापिसाब गर्नु, थुक्नु, ढुंगा हान्नुहुँदैन भन्ने विश्वास छ । यसर्थ, यी समुदायमा मानिस बिरामी हुनु वा रोग लाग्नुमा भौतिक तथा आध्यात्मिक दुवै कारण स्वीकारिन्छ । भौतिक कारणले बिरामी भएमा पनि धामीझाँक्रीद्वारै उपचार गराइन्छ भने आध्यात्मिक कारणले भए पनि धामीझाँक्रीद्वारै उपचार गरिन्छ ।
उपचार विधि तथा सामग्री
किरात राईले आध्यात्मिक कारण प्रेतात्मा (पितृहरूको भत्किएको आत्मा) वा प्रकृति रिसाएरै मानिस बिरामी भएको हो भन्ठान्छन् भने भौतिक कारण खानपान, बसउठ तथा अन्य कारण बिरामी भएको हो भन्ने कुरामा विश्वास गर्छन् । जुनसुकै कारण बिरामी भए पनि उनीहरूको उपचार धामीभाँक्रीद्वारा गराउँछन् । भूत, प्रेतात्मा या प्रकृति रिसाएर सामान्य बिरामी भएमा धामीभाँक्रीले अछेता (धानको चामल, खरानी, अम्रिसोको पात, सेउली, तीतेपाती आदि पर्संदै (छर्कंदै) फुक्ने (उपचार गर्ने) गर्छन् भने बिरामीको हालत निकै कमजोर छ भने विधिपूर्वक चिन्ता बसेर (थान थापना राखेर पूजाअर्चना गर्ने काम, देवीदेतालाई बोलाउने काम) उपचार गर्ने गर्छन् । यसरी चिन्ता बस्दा भने ढ्याङ्ग्रो, थाली, ढोल, झ्याम्टा बजाउँदै धामीभाँक्रीको आफ्नै पहिरन (फेटा, माला, जामा, पटुकी, मुकुट आदि) लगाएर विधिपूर्वक चिन्ता बस्छन् । बिरामीको शिर उठाउने, सातो बोलाउने तथा ग्रह (दशा) काट्ने कामममेत गरिन्छ । ग्रह काट्दा भने विभिन्न जनावरको प्रतीक बनाएर, केराको थाम, कुखुरा आदिलाई काटेर गर्ने गरिन्छ ।
यसरी नै यदि बिरामीको आफ्नै स्वास्थ्यका कारण (भौतिक कारण) बिरामी भएमा भने रोगअनुसार विभिन्नप्रकारका जडीबुटी घोटेर चुसेर, उमालेर, दलेर, पिसेर वा आवश्यकताअनुसार खुवाएर वा प्रयोग गरेर उपचार गरिन्छ । यसरी किराती दर्शनअनुसार मानिसलाई दुखबिमार हुनु भनेको प्रकृति वा प्रेतात्मा रिसाएर वा आफ्नै क्रियाकलापका कारण भएको हो भन्ने देखिन्छ । बिरामी हुँदा धामीझाँक्रीद्वारा परम्परागत रूपमा उपचार गर्ने गरिन्छ । हाल आएर भने अमूर्त संस्कृति लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । मनोवैज्ञानिक रूपमा गरिने झारफुक र जडीबुटीद्वारा गरिने परम्परागत उपचार पद्धति दुवैलाई विज्ञानसम्मत ढंगले हेर्ने र परीक्षण गर्न सके यो उपचार पद्धति वर्तमान समयमा समेत त्यतिकै उपयोगी र सान्दर्भिक देखिन्छ ।

72 पटक हेरिएको 

