
निर्मलीडाँडा (खोटाङ) । भारतीय सेनामा रहँदा मुगाधन राईले दोस्रो विश्वयुद्ध लडे । बर्माको मलमनमा लडाइँ लडेका राई छुट्टीमा घर फर्के । फर्केकै बेला घर आगलागी भयो । कागजात जल्यो । कागजात नभएपछि पल्टन फर्कन सकेनन् ।
कागजात मिलाउन भारतको गोरखपुर पुग्दा नेपाली कांग्रेसका नेताहरू सुवर्णशमशेर, मातृकाप्रसाद कोइराला, बीपी कोइरालासँग भेट भयो । धेरै प्रयासपछि राजा त्रिभुवनसँग पनि भेट भयो । ‘म जहानियाँ राणा शासन अन्त्यका लागि सारा प्रजासँग अनुरोध गर्छु । अब यसरी यस्तो शासनमा बस्न सकिँदैन । त्यसकारण हाम्रो देशका सम्पूर्ण प्रजासँग अनुरोध गरेको हुँ । राजा र प्रजा मिलेर राणा शासन अन्त्य गर्नुपर्छ,’ मैले के गर्न सक्छु भनेर मुगाधन राईले निवेदन गर्दा त्रिभुवनले भने, ‘हाम्रो साझा शासन स्थापना गर्नुपर्छ । अनि मात्र राजा र प्रजाको सच्चा प्रजातन्त्र प्राप्ति हुनेछ । मलाई विश्वास छ– हाम्रो जित अवश्य हुनेछ ।’
राजासँग कुराकानीपछि राणाविरुद्ध र प्रजातन्त्रको पक्षमा लड्ने प्रण गरे । केही प्रचार सामग्री र पुस्तक बोकेर फर्के । गोरखपुरबाट पल्टनका सबै कागजपत्र तयार गरी भाइसँग फर्के । त्यसपछि उनलाई राजनीतिको नशा लाग्यो । भोजपुर ससुराली (श्रीपाल राईको घर) जाँदा रामप्रसाद राई (बासिखोरा), नारदमुनि थुलुङ (छिनामखु) लगायतका नेतासँग भेटपछि उनी भोजपुरमा आन्दोलन छेड्ने अभियानमा सामेल भए ।
००७ सालको युद्धविरामले कांग्रेस नेताबीच खटपट भयो । डा. केआई सिंह र रामप्रसाद राईको पनि चित्त बुझेको थिएन । मुगाधन राई बिरामी परेकाले केही प्रतिक्रिया दिएनन् । उनको शरीरमा गोलीको असर देखापर्न थालेको थियो । रामप्रसाद र केआई सिंहले पत्रमा लेखे, ‘हाम्रो योगदानको कुनै कदर गरिएन । अवसरवादीको मात्र कदर भयो । त्यसकारण अब हामी अर्को क्रान्तिका लागि तयार छौं । तपाईंंहरू तुरुन्त काठमाडौं आउनूस् ।’
‘तपाईंंहरूले सोच्नुभएको कुरा अहिले नै ठीक छैन । जहानियाँ राणा शासन अन्त्य भइसकेको छ,’ मुगाधन राईले प्रतिउत्तर दिए, ‘यो कदम अघि नबढाउनुहोला । म थप उपचारका लागि कलकत्ता जाँदै छु ।’ डाक्टरले उपचारपछि तीन महिनाको औषधि दिएर डिस्चार्ज गरे । त्यतिखेर नेपालमा अर्को क्रान्ति छेडिएको खबर अखबारमा पढे । साथीहरूले काम बिगारेछन् भनेर मनमनै सोचे ।
घर फर्कनुअघिदेखि नै मुगाधनको खोजी हुन थालेको थियो । परिवारले उपचार गर्न गएको छ भन्दा पनि नपत्याएर धरपकड गरिरहेकै बेला उनी आइपुगे । आफूविरुद्ध षड्यन्त्र हुने निर्णय भएको अनुमान गरे । पक्राउ पर्नुअघि आफैं हाजिर हुने निर्णय गरी छिमेकी दुई दाजुभाइ साथी लिएर काठमाडौं हिँडे । दोलखाको चरीकोट रातमाटा (२ नम्बर) मा सेनासँग भेट भयो । उनले आफ्नो सोझो परिचय दिए । उनलाई सेनाले कब्जामा लिई काठमाडौं लगे । सेनाले धुलिखेल, भक्तपुर हुँदै सिंहदरबार पु¥याए ।
सिंहदरबारमा तीन दिन राखेपछि नख्खु जेल हाले । नख्खुमा केही थाहा नपाउनेगरी अँध्यारो कोठामा थुनियो । एउटै कोठाभित्र दिसापिसाब गर्नुपथ्र्यो । दुर्गन्धले बस्नै सकेनन् । केही दिन त खानेकुरा खानै सकेनन् । पछि बानी पर्दै गयो । एक साताजति बितेपछि उनलाई मृत्युदण्ड दिने चर्चा चुलियो । एक अपरिचित तर विश्वासिलो मानिसले उनलाई सुनाए ।
श्री ५ त्रिभुवनलाई बिन्तिपत्र चढाउने सोचले भरोसा लागेको व्यक्तिबाट कलम, कापी र खाम झिकाए । उनले बिन्तिपत्र पठाएको भोलिपल्टै त्रिभुवनकहाँ पुगेछ । दिउँसो २ बजेतिर आईजीपी जीबी याक्थुम्बा र कमान्डर इन चिफ करेन्स शमशेर र सिपाहीहरूले टुँडिखेलमा लगेर छाडे । के गरेको भनेर प्रश्न गर्दा राजाले छाडिदेऊ भनेकाले छाडेको भन्ने जवाफ पाए ।
केही दिनपछि नारदमुनि थुलुङ र मातृका कोइरालासँग मुगाधन राईको भेट भयो । उनीहरूले तपाईंंलाई ल्याएको त हामीलाई थाहै थिएन भने । यो कुरा मुगाधनलाई अलि चेप्य्राइँ गरेझैं लाग्यो । उनले त्यसको दुई दिनपछि राजासँग भेट गरे । आफ्ना दुःख सुनाए । राजाले केही आश्वासन दिए । त्यसपछि मातृकाप्रसाद कोइरालाले पूर्व झापा लैजानका लागि लिन आए । उनीहरू झापा गए । त्यहाँ आन्तरिक मामिला सकिएको थिएन । ००७ को क्रान्तिको असर बाँकी थियो । त्यसैले त्यो कलह मातृका र मुगाधन मिलेर समाधान गरे ।
बीपी कोइरालालाई राजनीतिक धरोहर मान्ने मुगाधन राईले प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदान अतुलनीय छ । उनको साहस अदम्य थियो । उनले जीवनकालको उत्तराद्र्धमा बीपीको सच्चा उत्तराधिकारी शेरबहादुर देउवामात्र भएको बताएका थिए । उनी श्री ५ महेन्द्रबाट गोरखा दक्षिणबाहु प्रथम पदकबाट विभूषित भए । राजनीतिमा लागेकै कारण उनले अन्य पद र राजनीतिक लाभ लिएनन् ।
दलबहादुर राई र चिजमाया राईको साइँला छोरा मुगाधन राईको जन्म संवत् १९८३ वैशाख २९ गते निर्मलीडाँडा–६ मुढेटोल, लामाखु खोटाङमा भएको हो । ०६२ फागुन २२ गते राईको निधन भयो ।

147 पटक हेरिएको 

