४० रोपनी जग्गा हुँदा नि सधैं अनिकाल

  सोनाम सज्जन किराती  58 पटक हेरिएको


संवत् २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपर्यो । ०५२ देखि ०६३ सम्मको जनयुद्धले गणतन्त्र स्थापना भयो । नेपालको राजनीतिक नक्सा फेरियो । माओवादी दलसम्बद्ध राजनीतिक नेतासमेत पटक–पटक सत्तामा पुगे । देशले नयाँ संविधान पायो । तर, परिवर्तनका लहर गाउँका दुःखी गरिबका घर–आँगनसम्म पुग्नै सकेन ।
हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा, दाम्लीका देशवीर राई त्यसकै उदाहरण हुन् । राईले परिवर्तनका गीत सुने पनि त्यसको उज्यालो देख्न पाउँदै पाएनन् ।

सधैंको अनिकाल

देशवीर राईसँग आफ्नै नाममा जग्गा धनीपुर्जा छ । ४० रोपनी खेतीयोग्य जमिन उनकै नाममा रहे पनि भकारी भरिँदैन । राई शारीरिक रूपमा अशक्त छन् । खेतबारीमा काम गर्न सक्दैनन् । हातखुट्टा कमै चल्छ । बोली स्पष्ट नहुनु, हिँडडुल गर्न कठिनाइले दुई छाक जोहो गर्नसमेत धौ–धौ परेको प¥यै । ‘भनेजस्तो खेती गर्न सक्दिनँ, खेताला हिँड्छु,’ फुसको छानो भएको पुरानो घरमा मुस्कुराउँदै देशवीर खुसी व्यक्त गर्छन्, ‘मुस्किलले बिहान, बेलुकाको गाँस जुटाउन सकें भनेमात्रै पनि धन्य हुन्छु ।’

धिपधिपे उज्यालो

राईका परिवारमा श्रीमती र एक छोरा थिए । पाँच वर्षकै उमेरमा छोराको निधन भयो । हिजोआज राई दम्पतीमात्रै छन् । घरभित्रै बाख्रा र कुखुरा राखिएका छन् । वर्षात्मा पानी चुहिन्छ । भुइँ हिलाम्य हुन्छ । बाँसका भाटाले बारिएको ठाउँमा माटोको लिउन हालिएको छ । गाँवैभरि बिजुलीबत्ती बले पनि उनको घरमा सल्लाको दियालोकै उज्यालोको सहारा लिनुपर्ने बाध्यता छ । ‘गोजीमा पैसा हुँदा मट्टीतेल किनेर टुकी बाल्छु,’ उनले जानकारी गराए, ‘पैसा नहुँदा दियालोकै भर पर्छु ।’

मतदाताको मानहानि

देशवीर राई माओवादी समर्थक मतदाता हुन् । ‘मैले जतिपटक मतदान गरें, माओवादीलाई नै गरें,’ राईको भनाइ छ, ‘तर, मैले मतदान गरेको नेता एकैपटक भेट्न पाएको होइन ।’ त्यसो भनिरहँदासमेत उनको गुनासोमा कुनै रोष छैन । छ त केवल गहिरो निराशामात्रै ।

महत्वाकांक्षी सपना नदेख्ने उनले फुसको छाना फेर्न वडाध्यक्ष देवेन्द्र राईलाई पटक–पटक गुहार मागे । तर, सुनुवाइ भएन । वडाध्यक्ष राईले उनलाई उल्टै सुझाए, ‘पूर्ववडाध्यक्ष हरि खड्कालाई सोध्नुहोस् न ।’

हिजोआज उनलाई आफ्नै फुसको घरको भर लाग्छ । ‘हामीले सानैमा बाबा गुमायौं । तर, देशवीर (ठूलो दाइ)ले भारी बोकेर हामीलाई हुर्काउनुभयो,’ देशवीरका छिमेकी बहिनी सम्झना राई र कल्पना राईले आँखाभरि आँसु पार्दै भक्कानिए, ‘अहिले उहाँको यस्तो अवस्था देख्दा मन पोल्छ । चाहेर पनि दाइलाई सहयोग गर्न सकेको छैन ।’

देशवीर–दृष्टि

देशवीर राईले गरेको मतदानले सत्तामा पुगेकाले ‘गणतन्त्रका ब्याज खाने’हरूले सालिन्दा योजना बनाउँछन् । उनीहरूले बनाउने योजनाले राईजस्ताको समस्या कहिल्यै समेटिँदैन । तर पनि उनको मनभित्रको जीवनको उज्यालो कहिले दियालो त कहिले मट्टीतेलको सहारामा बल्ने टुकीले झिलिमिली पार्छ । ‘गरिब त गरिबै हुँ,’ उनले पुछारमा बोले, ‘कम्तीमा बिजुलीबत्तीको उज्यालोमा बस्न पाए कति आनन्द हुन्थ्यो होला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार