किरातीलाई ‘लिब्जु–भुम्जु पुरस्कार’

  राई न्युज संवाददाता  61 पटक हेरिएको


ओखलढुंगा । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले कवि, लेखक तथा पत्रकार सोनाम सज्जन किरातीलाई ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरेका छन् ।

वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले स्थापना गरेको २०८१ को ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि, लेखक तथा पत्रकार किरातीलाई प्रदान गरिएको हो ।

‘आफ्नै मातृभाषाको पुरस्कार प्राप्त गर्दा नोबेल पुरस्कार पाएको अनुभूति गरेको छु,’ मानेभन्ज्याङ गाउँपालिका–५, ओखलढुंगाको माथिल्लो रिचुवामा भएको २५औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता तथा गोष्ठीमा पुरस्कार थापेपछि किरातीले खुसी व्यक्त गरे, ‘योभन्दा खुसीको क्षण अरू हुनै सक्दैन । अब मैले अरू पुरस्कार नपाउँदा फरक पर्दैन ।’

पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिकमा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एकलाई प्रदान गरिँदै आएको सम्पादक गणेश वाम्बुले राईले जानकारी गराए ।
इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णांक २५ (लिब्जु–भुम्जुको ९८औं शृंखला), २०८१ साउन–असोजमा प्रकाशित कवि किरातीको ‘बुल्याम पो दाजु ब्अिम्सै हाहासिम’ (बुल्यामको बाउ दाजु सोच्दै भक्कानिए) शीर्षाकृत कविता पुरस्कारनिम्ति चयन गरिएको थियो ।

यस कविताले ग्रामीण जनजीवनको चित्रण गरेको छ । रोजगारीका निम्ति सिलोङ पुगेका एक युवकले उतैबाट खसिनीलाई जीवनसंगिनी बनाएर घर भित्र्याएपछिको गृहस्थी जीवनको सुन्दर बयान छ । घरगृहस्थी धान्ने परम्पराको मौलिकता आफ्नै छ । तर, पुर्खाले आर्जेको मातृभाषा र संस्कृति बिस्तारै लोप हुँदै गएको तथा युवा पुस्ताले बिर्संदै गएको प्रसंग काव्यिक ढंगले प्रस्तुत गरिएको छ ।

आमा प्रेमसरी राई र बुवा रन्जित राईको जेठो छोरा देवराज राई (सोनाम सज्जन किराती) को जन्म २०४३ माघ १० गते हलेसी तुवाचुङ नगरपालिका–२, दाम्ली, खोटाङमा भएको हो । उनले स्नातक तहसम्म अध्ययन गरेका छन् । कविता, निबन्ध, आलेख र समाचार लेख्दै आएका उनको ‘नपुंशक स्वर्गको विरुद्ध आगो’ (कवितासंग्रह, २०७२) र ‘जनयुद्धमा बितेका पल’ (संस्मरण संग्रह, २०८०) प्रकाशित छन् ।

वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले ‘लिब्जु–भुम्जु पुरस्कार–२०५५’ स्थापना गरेका हुन् । यो पुरस्कारबाट २४ कवि पुरस्कृत भइसकेका छन् । पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार