
साबिक टेम्मा गाउँ विकास समिति–५, खाम्ला, खोटाङमा पिता टेकबहादुर राई र माता इन्द्रकुमारी राईका कोखबाट रूपकुमार राईको जन्म भएको थियो । आईएसम्मको अध्ययन गरेका राईले संगीतमा सिनियर डिप्लोमा गरेका छन् ।
संवत् २०५५ देखि गीत–संगीतमा संलग्न छन् । ‘मेरो गाउँको माहोल संस्कृतिमय र संगीतमय थियो,’ यस क्षेत्रमा लाग्ने प्ररणाबारे जिज्ञासा राख्दा उनले भने, ‘मेरा आफन्त र परिवारजनको मप्रतिको आशा र भरोसाका कारणले नै म गायन क्षेत्रमा लागें । मेरो प्रेरणा स्रोत भन्नु नै परिवार हो ।’
०५५ देखि शास्त्रीय संगीत सिक्न थालेका उनले ०५७ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरे । ०५८ मा लोक तथा दोहोरी क्यासेट ‘मनको देउराली’, ०६१ मा आधुनिक गीतिएल्बम ‘साक्षी’ र आधुनिक गीतिएल्बम ‘सामिप्य’ सार्वजनिक भइसकेको छ ।
थुप्रै कलेक्सन गीतिएल्बममा आवाज दिइसकेका गायक रूपकुमार राई आफ्नो धर्म निर्वाह गर्दा गलत अर्थ नलाग्ने जुनसुकै गीत गाउन तत्पर छन् । तर, सन्देशमूलक र समाजमा परिवर्तन ल्याउन सक्ने गीतले अर्थपूर्ण अर्थ राख्नुका साथै सदावहार हुने विचार व्यक्त गर्छन् ।
‘एउटा राम्रो गीत बन्नका लागि रचना, संगीत र स्वर तीनै पक्ष उत्तिकै सशक्त र उत्कृष्ट हुनुपर्छ,’ उनको मान्यता छ, ‘म गायक भएकाले गर्दा राम्रो गीत बनाउनका लागि उल्लिखित पक्षमा विचार पुर्याउँछु ।’ त्योबाहेक सामूहिक स्वर दिनुपर्ने अवस्थामा गायिकाको स्वरबारे पनि विचार पुर्याउनैपर्छ । गायक–गायिकाले खानपानमा समेत विशेष ध्यान दिनुपर्ने उनको बुझाइ छ ।
‘साक्षी गीतिएल्बमको ‘बलेको आगो सबैले ताप्छन्’ भन्ने गीत मलाई असाध्यै मन पर्छ,’ उनलाई आफ्नै मन पर्ने एउटा सिर्जनाको नाम लिन आग्रह गर्दा उनले उल्लिखित गीतको पृष्ठभूमिसमेत प्रस्ट्याए, ‘यो गीतको संगीत शान्तिराम राईले गर्नुभएको हो । गीतकार भरत राई हुनुहुन्छ । गीतमा अहिलेको यथार्थताबारे वर्णन गरिएको छ ।’
गीत–संगीत एउटा मानवीय अभिव्यक्ति हो भन्ने उनको भनाइ छ । खोटाङे गीत–संगीतको विशेषता भनेकै लोकभाका हो । गोठाले र साकेला गीत हो । गायक तथा संगीतकार रूपकुमार राई नेपाली गीत–संगीतलाई माया गरिदिन विशेष आग्रह गर्छन् । ‘नराम्रो चीजलाई सुधार्न सल्लाह, सुझाव दिनुहोला,’ गायक तथा संगीतकार राईले पुछारमा सुझाए, ‘राम्रो चीजको प्रोत्साहन र कदर गर्न जाँगर चलाइदिनुहोला है ।’

53 पटक हेरिएको 

