
एक हजार बढी गीत गाइसकेका गायक बालन्द राईले पाँच सय बढी गीतमा संगीत भरेका छन् । आधुनिक, लोकगीत, राष्ट्रियगीत, लोकदोहोरी र भजनसम्म गाउन भ्याएका गायक राईले गीत नलेखे पनि लेख्नेलाई यसरी लेख्नुस् है भनेर सुझाउँछन् ।
समाजशास्त्रमा स्नातकोत्तर सकेर धनकुटा पुगेका उनी जागिरमा रमाउन सकेनन् । भोकै बस्ने तर जागिर नखाने प्रतिबद्धतासहित काठमाडौं फर्केका उनको सांगीतिक उचाइ अग्लिँदै गएको छ । ‘बिजनेस’ पाएकै छन् । उनले गाएको गीत हिजोआज पनि त्यत्तिकै सदावहार मानिन्छ । ‘मिनीबसमा चढेर जाऊँ न बेलबारी’ मात्रै होइन, उकाली ओह्राली, पुग्नैपर्छ आज लौ सिम्लेपुलपारिदेखि किन माफी माग्छौ मेरो दिल रुवाई, तिमी सुखी बन्नू तिमीलाई बधाइ’ गीत गुनगुनाउनेको कमी छैन ।
पहिले/पहिले संगीत गरे पनि अर्कैको राख्ने उनले हिजोआज आफ्नै नाम राख्ने गर्छन् । ‘संगीत गर्न थालेपछि मलाई गीत गाउन नदेलान् भन्ने पीरले आफ्नो नाम राख्न डराउँथे । उल्लिखित कामले उनको गायनमोह कतिसम्म रहेछ भन्ने प्रस्ट्याउँछ ।
गीत–संगीतमा लागेका मानिस पढेलेखेका हुँदैनन् भन्नेहरूका लागि उनी प्रतिनिधि पात्र हुन् । एक हजार गीत गाउँदा र पाँच सय बढी संगीत गरेका गायक तथा संगीतकार बालन्द राई मन पर्ने १७ गायिका चर्चा गरिएको छ ।
अरूणा लामाको स्वर नै मीठो लाग्छ । गायिका लामाको स्वर वेदनामिश्रित छ । करुण रसका गीतमा उनलेजति अरूले सायदै गाउन सक्लान् ।
शान्ति ठटाल
गायिका तथा संगीतकार शान्ति ठटालको स्वर दमदार छ । त्योभन्दा ‘म्युजिक कम्पोजिसन’ लोभलाग्दो लाग्छ । कम्पोज गर्नेले सिङ्गिङ कसरी गर्ने भनेर जान्नुपर्छ । त्यो उनको कलाभित्र पर्छ । संगीतकार भनेर चिन्नेको बाहुल्य रहे पनि उनको गायनकलामा त्यत्तिकै ‘पर्फेक्टनेस’ छ ।
तारादेवी
तारादेवीको कला भनेकै प्रस्टसँग गाउन सक्नु हो । उनले गाएको कुनै पनि गीत नबुझिने छैन । सुन्नसाथ बुझिन्छ । सुर पनि त्यत्तिकै राम्रो । गायनमा प्रस्ट र त्यत्तिको सुर नेपाली गायिकामा सायदै होलाजस्तो लाग्छ ।
मीरा राणा
मीरा राणा ‘भर्सटाइल’ गायिका हुन् । कतिले राणाको गीत नसुनेका होलान् । प्रविधि विकास नभएको त्यतिबेला लाइभ गाउँदासमेत उनको स्वरलाई आशाभोसलेसँग तुलना गर्न सकिन्छ ।
सुक्मित गुरुङ
सुक्मित गुरुङ ‘अलराउन्डर’ हुन् । उनको गायनकलामा खोट लगाउने ठाउँ छैन । भारतीय गायिकाको भन्दा कम छैन उनको गायनकला । गायनमा खुला, सन्तुलित शक्ति चाहिन्छ । गायिका गुरुङमा त्यो गुण छ । उनको उच्चारण झनै राम्रो छ ।
बिमला राई
बिमला राई शास्त्रीय संगीत बुझेकी गायिका हुन् । गायिका राई स्वरमा शास्त्रीय संगीतको सुगन्ध रहेको छ ।
कुन्ति मोक्तान
कुन्ति मोक्तानसँग जानेर, बुझेर गाउन सक्ने क्षमता छ । गीत सुन्दै थाहा हुन्छ, उसले संगीत सिकेको, बुझेको छ कि छैन भनेर । गायिका मोक्तानको गायनमा राग आउँछ ।
लोचन भट्टराई
साहित्यिक चेत भएकाले लोचन भट्टराईको गायन उत्कृष्ट छ । उनको उच्चारण त्यत्तिकै बेजोड छ । उनको सबैभन्दा राम्रो पक्ष भनेकै प्रस्ट उच्चारण हो ।
मनिला सोताङ
मनिला सोताङको आवाज अन्य गायिकाको भन्दा पृथक सुनिन्छ । उनको आवाजमा दर्द पनि भेटिन्छ ।
सुनिता सुब्बा
सुनिता सुब्बाको गायनमा सुर लाग्छ । गायिका सुब्बाको सबल पक्ष भनेकै सुरमा गाउने सक्नु हो ।
सपनाश्री
सपनाश्री प्रतिभावान् गायिका हुन् । कर्डमा मात्रै गीत गाउन सक्ने उनको कला तारिफ गरेर साध्ये छैन । उनले एकताका एकैबसाइमा पाँच गीत रेकर्डिङ गरेकी थिइन् ।
डेजी बराइली
गायिका डेजी बराइलीको ‘टिपिकल भ्वाइस’ छ । ‘भैंसी लड्यो है माया भीरबाट हेर’ गीत अरूलाई गाउन दिएको भए डेजीले जत्तिको गाउनै सक्थे सक्दैनथे भन्नै गाह्रो हुन्छ । उनको गलाको कला वर्णन गरिसाध्ये छैन । उनले गाएको अर्को गीत ‘एउटा खुला किताब हुँ म तिमीले पनि पढे हुन्छ’ बिछट्टै राम्रो ।
रीमा गुरुङ
रीमा गुरुङको आवाज नै मीठो । गुरुङलाई ‘भर्सटाइल’ गायिका भन्दा फरक पर्दैन ।
आभा मुकारुङ
आभा मुकारुङको विशेषता भनेको छिटो गाउनु हो । त्यस्तो गुण धेरै कममा हुन्छ । गीत रेकर्डिङमा ट्युनिङ चाँडै बुझ्नु सम्बन्धित गायिकाको सबल पक्ष हो ।
मेलिना राई
मेलिना राई अहिलेका सर्वाधिक रुचाइएको गायिका हुन् । गायिका राईको आवाजमा सबैथोक छ । उनको आवाजमा ‘रेन्ज’ छ, ‘बेस नोट’ झन् राम्रो । उनले गीतको शब्द/शब्द बुझेर गाउँछिन् ।
बानिका प्रधान
गायक–गायिकाले ‘रेन्ज’ बारे जान्न आवश्यक छ । गायिका बानिका प्रधानलाई ‘रेन्ज’को हिसाबकिताब गर्न आउँछ । त्यो गुण कमैमा पाइन्छ ।
सुनिता थेगिम
सुनिता थेगिमको आवाजमा ‘पर्फेक्टनेस’ छ । उनको सांगीतिक भविष्य उज्ज्वल देख्छु । कलाकारितामा धेरै काम हेरिराख्नै पर्दैन, त्यसको ज्वलन्त उदाहरण गायिका सुनिता थेगिमलाई लिन सकिन्छ ।

50 पटक हेरिएको 

